आईसीसी सीईओ सञ्जोग गुप्ताले नेपालले भोलि अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्ने बताए

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जोग गुप्ताले नेपाललाई भोलि अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। गुप्ताले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै नेपाली क्रिकेटको स्तर द्रुत गतिमा सुधार भइरहेको र नेपाली खेलाडीहरूले विश्व मञ्चमा आफू योग्य साबित गरिरहेको बताए। उनले भने, ‘नेपाल भोलिको अफगानिस्तान बन्न सक्छ अथवा भोलिको न्युजिल्यान्ड पनि बन्न सक्छ।’
गुप्ताले नेपालले उत्कृष्ट खेलाडीहरूको समूह विकास गरेको र आईसीसीका विभिन्न बाटोहरूबाट निरन्तर माथि उठिरहेको उल्लेख गरे। उनले थपे, ‘उनीहरू (नेपाली खेलाडी) ले विश्व मञ्चमा आफूहरू योग्य भएको प्रमाणित गरिरहेका छन्।’ आईसीसीले पछिल्ला दुई वर्षमा नेपालको क्रिकेट विकासका लागि करिब ५० लाख अमेरिकी डलर लगानी गरेको छ।
नेपालले आगामी वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपमा सह–आयोजकको अधिकार पनि पाएको छ। गुप्ताले भने, ‘नेपाललाई सबै खेलले चाहने ठूलो सम्पत्ति छ – ठूलो र अत्यन्तै उत्साहित प्रशंसक वर्ग। आजका समर्थक नै भोलिका खेलाडी हुन्।’ सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकपमा छनोट हुनु नेपालका लागि निर्णायक मोड थियो। सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएपछि क्रिकेट लोकप्रियता नेपालमा तीव्र रूपमा बढेको छ।






