
जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले हिमपहिरोका कारण नेपाल-चीन सीमा नजिक बनेको एउटा ताल फुटेको र त्यसको पानी बाहिरीतर्फ बगेको हुँदा अब त्यहाँ अर्को तालबाट ठूलो विनाशकारी बाढीको खतरा कम भएको बताएका छन्। बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् विनोद पराजुलीका अनुसार सीमा क्षेत्रमा बनेको ‘लेक वान’ भनिने ताल फुटेपछि बिहानै लेदो सहितको बाढी भोटेकोशी र त्रिशूली नदीमा आएको बताए। नेपाली अधिकारीहरूले तत्काल सतर्कता अपनाउन चेतावनी दिएका थिए। तर अहिले त्यस्तो ठूलो बाढीको जोखिम कम भएको र छेउमा रहेको अर्को तालले मध्यम जोखिम मात्र हुनसक्ने आकलन गरिएको अधिकारीहरूले बताए।
गत हप्ताको बाढीमा आइतबार अपराह्न १ बजेसम्म ७५२ जनाको मृत्यु भइसकेको र २५ सय भन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको जनाइएको छ। वरिष्ठ मौसमविद् पराजुलीले भने, “बनेका दुई तालमध्ये तल्लो ताल फुटेको खबर बिहान आएको हो। सुरुमा त्यसको कारण थाहा थिएन। तर बाढी नेपालतर्फ आएको थाहा भएपछिको सूचना दिनासाथ हामीले सतर्कता जारी गरेका थियौं।” उनले थपे, “बाढी ठूलो थियो तर अघिल्ला जस्तो ठूलो होइन। त्यो बाढी नेपालबाट बाहिर गएको छ। अब जोखिम कम भएको अनुमान गर्न सकिन्छ किनभने फुट्न लागेको ताल फुटिसकेको छ।”
नेपालतर्फको पहाडमा चट्टानले घेरिएको अवस्थामा अर्को ताल रहेको र त्यसलाई लिएर प्रारम्भिक विश्लेषणमा जोखिम कम देखिएको जानकारी दिइयो। उनले त्यो तालको निगरानी भइरहेको र पानीको गहिराई कम भएकाले फुट्ने सम्भावना पनि कम रहेको बताए। चिनियाँ पक्षले समेत सो तालको निगरानी गरिरहेको र जोखिम भए पनि गत साता वा आइतबार आएको जस्तो ठूलो बाढी नआउने अनुमान गरिएको उनले बताए।
आइतबार बिहान ७ बजे जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले रसुवा भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदी, गल्छी धादिङमा जल सतह ३ मिटरले बढेको जनाइएको थियो। गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएको र नारायणी तथा यसको सहायक नदीहरूमा जल सतह बढ्नसक्ने भएकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको थियो। वरिष्ठ मौसमविद् पराजुलीले दोस्रो ताल हिमपहिरोका कारण ढुङ्गा र माटोले अवरुद्ध भएर बनेको र नेपालको दुर्गम भाग भएकाले निगरानी गाह्रो भएको बताए। “नेपालबाट त्यो भागमा पुग्न सक्ने माध्यम छैन अनि हेलिकोप्टरमार्फत जान चीनको सुरक्षाक्षेत्र हुँदै जानुपर्ने भएकाले स्वीकृति आवश्यक छ। चीनले निगरानी गरिरहेको र सूचना पठाइरहेको भए पनि हामी उद्धारमा केन्द्रित छौं।”






