Skip to main content

पिकलबलमा सुवर्ण शाहले पुरुष एकल र डबल्समा दोहोरो उपाधि जिते

हार्दिक फिटनेसको २९औँ वार्षिकोत्सवको अवसरमा पुल्चोकमा सम्पन्न खुला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैमा उपाधि हात पार्न सफल भएका छन्। पुरुष एकल फाइनलमा सुवर्णले प्रनव खनाललाई ११–४, ११–१ को Poइन्ट अन्तरले पराजित गरे भने डबल्समा सुवर्ण र समीर पोखरेलको जोडीले उपाधि जित्न सफल भयो। प्रतियोगितामा पुरुष एकलमा ३६ खेलाडी र डबल्समा ४६ टोलीले भाग लिए, र शीर्ष तीन खेलाडी तथा टोलीहरुलाई नगद पुरस्कार र सदस्यता प्रदान गरिएको थियो।

१६ भदौ, काठमाडौं। हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबल फाइनलमा सुवर्ण शाहले प्रनव खनाललाई सहज ११–४, ११–१ को सेट अन्तरले पराजित गरे। पुरुष डबल्समा पनि सुवर्ण र समीर पोखरेलको जोडीले ११–५ र ११–२ को सिक्वेन्समा जित दाबी गर्यो। पुरुष एकलमा तेस्रो स्थानका लागि भएको खेलमा आयुष श्रेष्ठले मनोज कुमारलाई ११–३, ५–११, ११–८ को सेट अन्तरले हराएर पदक प्राप्त गरे।

त्यसैगरी पुरुष डबल्समा तेस्रो स्थानका लागि भएको खेलमा कृष्ण अग्रवाल र मनोज कुमारको जोडीले रोहित चाम्लिङ र बेदकुमार तामाङको जोडीलाई १०–१२, ११–७, ११–७ को परिणाममा हरायो। प्रत्येक खेलका शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। साथै सबै विजेतालाई गिफ्ट ह्याम्पर र हार्दिक फिटनेसको निःशुल्क सदस्यता प्रदान गरियो। नेपालमा नयाँ खेलको रूपमा परिचित पिकलबलमा ३६ जना व्यक्तिले पुरुष एकल र ४६ टोलीले पुरुष डबल्समा प्रतिस्पर्धा गरे।