Skip to main content

भोटेकोशी प्रलयको पूर्वसूचना दिने प्रतिवेदन दराजमा नथन्किएको भए के हुन्थ्यो

समाचार सारांश २४ असार २०८२ बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा १८ नागरिक बेपत्ता भए र मितेरी पुलसहित भन्सार यार्ड, कन्टेनर, सवारीसाधन र सडकखण्डमा क्षति भयो। गत वर्षको रसुवा बाढीपछि बनेको प्रतिवेदनले हिमताल, नदी किनारका बस्ती, पूर्वसूचना प्रणाली र जोखिम मूल्यांकनका लागि वैज्ञानिक अध्ययन गर्न सुझाएको थियो। प्रतिवेदनका सुझाव र निष्कर्ष कार्यान्वयन नभएकाले दराजमा थन्किएको र एक वर्षभित्र उस्तै प्रकृतिको ठूलो बाढी दोहोरिएको उल्लेख गरिएको छ। १६ भदौ, काठमाडौं। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो। यो बाढीमा १८ नागरिक बेपत्ता भए। मितेरी पुल बग्यो, साथै रसुवागढी जलविद्युत् आयोजना, रसुवा भन्सार कार्यालय यार्ड, जाँचपासमा राखिएका मालवाहक कन्टेनर, सवारीसाधन, स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा समेत ठूलो क्षति गर्‍यो। त्यही बाढीपछि रसुवामा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशीघ्र प्रतिवेदन बनाउन जिल्ला सुरक्षा समिति रसुवा र जिल्ला व्यवस्थापन समिति रसुवाको आकस्मिक बैठकले समिति गठन गर्‍यो। सोही समितिले बुझाएको प्रतिवेदन अहिले पनि सरकारी दस्तावेजमा अभिलेखीकरण भएको छ। तर, प्रतिवेदनका सुझाव र निष्कर्ष कार्यान्वयन भएनन्। बरु दराजमा थन्काइए। नभन्दै उस्तै प्रकृतिको तर त्योभन्दा विशाल क्षमताको अर्को बाढी एक वर्षकै अवधिमा दोहोरियो र अकल्पनीय मानवीय क्षति गर्‍यो। प्रतिनिधिसभा अन्तर्गत विकास समिति सभापति तथा नेपाल इन्टरमोडल विकास समितिका तत्कालीन कार्यकारी निर्देशक आशिष गजुरेल भन्छन्, ‘गत वर्ष नै बाढीले भन्सार बिन्दुसहित आसपासको बस्तीलाई कडा चेतावती दिएको थियो, सायद हामीले त्यसलाई गम्भीर लिन सकेनौं।’