
भोटेकोशी बाढीले रसुवाको टिमुरेमा एनसेलको एक मोबाइल टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनलाई पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। प्रारम्भिक अनुमानअनुसार, बाढी र पहिरोले कम्पनीलाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुर्याएको एनसेलले जनाएको छ। नुवाकोट, रसुवा र धादिङका २७ मोबाइल टावर प्रभावित भएका थिए, जस मध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्। बाँकी तीन साइट मर्मत भइरहेको छ।
एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई भदौ १० देखि निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराएको छ, जसको मूल्य आइतबारसम्म १ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गर्दै उक्त सेवा सञ्चालनमा ल्याएको हो। बाढी आउनुअघि सात दिनसम्म सक्रिय रहेका ग्राहकहरूलाई निःशुल्क सेवा उपलब्ध गराउन योग्य बनाइएको छ।
मोबाइल टावर पुनः सञ्चालनमा आएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दो क्रममा रहेको कम्पनीले जनाएको छ। संकटको समयमा ग्राहकहरूलाई निरन्तर सम्पर्कमा रहन सहज बनाउन २५ हजारभन्दा बढी ग्राहकको सिम सेवा पुनः सक्रिय गरिएको छ। एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कॉल टोन तथा एसएमएस सेवा पनि सम्प्रेषण गर्दै आएको छ।





