Skip to main content

नेपाल-तिब्बत बाढी: केरुङमा अलपत्र परेका ११४ नेपालीहरू तातोपानी हुँदै स्वदेश फर्कन थाले

रसुवागढीमा आएको विनाशकारी बाढीपछि तिब्बतको केरुङमा अलपत्र परेका ११४ जना नेपालीहरू बिहीबारबाट नेपाल फर्कन सुरु भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ। मानसरोवर तीर्थयात्रा र व्यापारका लागि भिसा लगाएर तिब्बत पुगेका अधिकांश नेपालीहरू पहिलेदेखि नै स्वदेश फर्किसकेको महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले जानकारी दिएका छन्। तर अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अहिले फिर्ता हुन लागेका हुन्। रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड-अनलोड, होटेल तथा रेस्टुराँमा काम गर्न जाने नेपालीहरूले भिसा नलिन सक्ने व्यवस्था छ।

“आज यहाँबाट पहिलो खेप निस्केका हुन्, बेलुकासम्म काठमाण्डू पुग्नेछन्। यसपछि पनि निरन्तर पठाइरहन्छौं,” निरौलाले ल्हासाबाट टेलिफोनमा भने। रसुवागढी नाका र पासाङ ल्हामु राजमार्ग बाढीले कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपालीहरू अलपत्र परेका थिए।

महावाणिज्यदूत निरौलाका अनुसार नेपालीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकासम्म पुर्‍याउन चीनले सहजीकरण गरेको छ। अस्थायी अनुमति लिएर काम गर्न वा किनमेलका लागि जाने नेपालीहरू तिब्बततर्फ ३० किलोमिटर भित्र मात्र जान पाउँछन्। राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउन चीन सरकारले सहयोग गरेको हो। “उनीहरूलाई अस्थायी अनुमति दिई तातोपानी नाका हुँदै नेपाल पठाउन लागिएको हो,” निरौलाले भने।

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब १,६०० नेपाली रहेको अनुमान छ। तीमध्ये ८०० जनाले नेपाल फर्किन नाम टिपाइसकेको जानकारी दिएका छन्। “होटेल र रेस्टुराँहरूमा लामो समय काम गर्ने नेपालीहरूले अहिलेसम्म नाम टिपाएका छैनन्। प्रायः सामान लिन, किनमेल गर्न र लोड-अनलोडमा आएका नेपालीहरूले नाम टिपाएका छन्,” निरौलाले बताए। फिर्ता हुन चाहने अन्य नेपालीहरूले पनि नाम टिपाउन सक्छन्।

चीनबाट आयात हुने सामान ढुवानी गर्ने नेपाली ट्रकहरूलाई सीमाबाट करिब २७ किलोमिटर टाढा केरुङसम्म जान चीनले अनुमति दिन्छ। नेपाल हिमालय सीमापार व्यापार सङ्घका अध्यक्ष रामहरि कार्कीका अनुसार केरुङतर्फ १७६ ट्रक र कन्टेनरहरू तथा ८० जना चालकहरू रोकिएका छन्। “त्यहाँ रेस्टुराँ, पसलमा पनि नेपालीहरू काम गरिरहेका छन्। लोड-अनलोडमा पनि नेपालीहरू छन्। हामीलाई ८० जना चालकहरूको विवरण प्राप्त भएको छ,” उनले भने।

यसअघि बेइजिङस्थित नेपाली दूतावासले तिब्बततर्फ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्कन सहयोग गर्न केही फोन नम्बरहरू सार्वजनिक गरेको थियो। महावाणिज्यदूत निरौलाका अनुसार अस्थायी पास लिएर केरुङ पुगेका र स्वदेश फर्कन चाहने नेपालीहरूलाई स्थानीय प्रशासनसँग सम्पर्क गरी नाम टिपाउन भनिएको छ। त्यसपछि चीन सरकारले बसमार्फत तातोपानी नाकासम्म पुर्‍याउने व्यवस्था गरेको छ।

सीमापार व्यापार सङ्घका अध्यक्ष कार्कीका अनुसार केरुङमा रोकिएका ट्रकहरूलाई तातोपानी नाकाबाट ल्याउन अहिलेसम्म अनुमति दिइएको छैन। “तातोपानी बन्द रहेकोले कोरला नाकाबाट लैजान भनिएको छ। हामीलाई कोरला बाट ल्याउन टाढो पर्छ, तातोपानीबाटै अनुमति दिन आग्रह गरेका छौं,” कार्कीले भने।

मानसरोवर तीर्थयात्रा र अन्य प्रयोजनका लागि भिसा लगाएर तिब्बत पुगेका नेपालीहरू पहिलेदेखि नै ल्हासा र तातोपानी नाकाबाट स्वदेश फर्किसकेका छन् भनी महावाणिज्यदूतावासले जनाएको छ। तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीमा नेपाल र चीन दुबै तर्फका अध्यागमन कार्यालयहरू सहित सीमा कार्यालयहरू बगाएको थियो। नेपालको अध्यागमन कार्यालयले भदौ १० गते बिहान बाढी आउनुअघि रसुवागढी अध्यागमन कार्यालयबाट चीनतर्फ ३५ जना नेपालीले प्रवेश गरेको विवरण पहिले नै सार्वजनिक गरेको थियो।