
समाचार सारांश समीक्षा पश्चात तयार गरिएको। बाढी प्रभावित जिल्लाका होल्डिङ सेन्टरहरूमा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूप्रति हुन सक्ने दुर्व्यवहार रोक्न नेपाल प्रहरीले थप संवेदनशील भएर काम सुरु गरेको छ। रसुवा, नुवाकोट र धादिङ जिल्लामा महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ। नेपाल प्रहरी अस्पतालको विशेषज्ञ चिकित्सक टोलीले होल्डिङ सेन्टरहरूमा स्वास्थ्य जाँच र मनोपरामर्श प्रदान गर्दै आएको छ। १८ भदौ, काठमाडौं। बाढी प्रभावित क्षेत्रभित्र पर्ने विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टरहरू तथा अन्य स्थानहरूमा महिला, बालबालिका र ज्येष्ठ नागरिकविरुद्ध हुनसक्ने दुर्व्यवहार, हिंसा लगायतका घटनाहरूलाई रोक्न नेपाल प्रहरीले थप संवेदनशील भई काम थालिसकेको छ। प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध कुनै पनि किसिमका अप्रिय घटना हुन नदिन रसुवामा १०, नुवाकोटमा २९ र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ। पछिल्लो तथ्यांक अनुसार रसुवाको होल्डिङ सेन्टरमा महिला १२९, बालक २० र बालिका २२ गरी जम्मा १७१ जना रहेका छन्। धादिङमा महिला १२६, बालक २४ र बालिका ३२ गरी जम्मा १८२ जना छन् भने नुवाकोटमा महिला ९२९, बालक १९५ र बालिका १६८ गरी जम्मा १२९२ जना रहेका छन्। यसै गरी काठमाडौंको होल्डिङ सेन्टरमा महिला १९९, बालक ५३ र बालिका ४९ गरी कुल २११ जना रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्छन्, ‘महिला, बालबालिका र ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध नियन्त्रणमा प्रहरी थप संवेदनशील भएर काम गरिरहेको छ। होल्डिङ सेन्टरमा महिला र बालबालिकासँग सम्बन्धित समस्या तथा गुनासोहरू सम्बोधन गरी आवश्यक मनोपरामर्श पनि दिनेछन्।’ बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरहरूमा नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य जाँचसहित मनोपरामर्श पनि प्रदान गर्दै आएको छ।






