
मित्सुबिशीले टोकियोमा नयाँ पुस्ताको फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ सार्वजनिक गरेको छ। नयाँ पजेरोको बिक्री चालु आर्थिक वर्षभित्र थाइल्यान्डबाट सुरु भई सन् २०२७ देखि १०० भन्दा बढी देश र क्षेत्रमा विस्तार गरिनेछ। नयाँ पजेरोमा २.४ लिटर क्लिन डिजेल इन्जिन, ८–स्पीड अटोमेटिक ट्रान्समिसन र सुपर अल–ह्विल कन्ट्रोल प्रणाली राखिएको छ।
१८ भदौ। जापानी अटोमोबाइल कम्पनी मित्सुबिशीले आफ्नो लोकप्रिय फ्ल्यागसिप एसयूभी ‘अल–न्यु पजेरो’ को नयाँ पुस्ता सार्वजनिक गरेको छ। सन् २००६ मा चौथो पुस्ताको पजेरो सार्वजनिक भएको लगभग दुई दशकपछि कम्पनीले यो नयाँ मोडल ल्याएको हो। जापानको टोकियोमा बुधबार आयोजित विशेष कार्यक्रममा यो गाडीको विश्वव्यापी पहिलो प्रदर्शन गरिएको छ।
मित्सुबिशी मोटर्सका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) केइसुके किशिउरा र प्रमुख उत्पादन विशेषज्ञ इताकी कुनितोशीले यस कार्यक्रममा औपचारिक रूपमा गाडीको अनावरण गरेका थिए। नयाँ पजेरोको उत्पादन थाइल्यान्डस्थित मित्सुबिशीको मुख्य उत्पादन केन्द्रमा हुनेछ। बिक्री वितरण चालु आर्थिक वर्षभित्र थाइल्यान्डबाट सुरु गर्ने योजना छ। त्यसपछि सन् २०२६ को आर्थिक वर्षभित्र जापान र अस्ट्रेलिया जस्ता प्रमुख बजारहरूमा यो उपलब्ध गराइनेछ। सन् २०२७ देखि कम्पनीले यसलाई आसियान, ल्याटिन अमेरिका र पश्चिम एसियासहित १०० भन्दा बढी देश र क्षेत्रमा फैलाउने योजना बनाएको छ।
सन् १९८२ मा पहिलोपटक बजारमा आएको पजेरोले प्रामाणिक अफ–रोड क्षमता, उच्च विश्वसनीयता र यात्रुलाई दिइने सुविधाहरूको उत्कृष्ट संयोजन प्रस्तुत गरेको थियो। १९९० को दशकमा जापानमा मनोरञ्जनात्मक सवारीसाधनको नयाँ लहर ल्याउन पजेरोलाई ठूलो योगदान मानिन्छ। चार पुस्तामा यसको कुल उत्पादन ३२ लाख ९० हजारभन्दा बढी भइसकेको छ। प्रसिद्ध डाकार र्यालीमा सात पटक लगातार जीतसहित कुल १२ पटक समग्र विजेता बनेर पजेरोले ‘किङ अफ डेजर्ट’ को उपाधि पाएको हो। र्याली प्रतियोगितामा परीक्षण गरिएका र विकसित प्रविधिहरू मित्सुबिशीले आफ्ना उत्पादन गाडीहरूमा प्रयोग गर्दै आएको छ।
विश्वव्यापी कार्यक्रममा सम्बोधन गर्दै मित्सुबिशी मोटर्सका अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) केइसुके किशिउराले कम्पनीको नयाँ रणनीतिक योजना प्रस्तुत गरे। किशिउराले भने, ‘हाम्रो सन् २०३० मध्य र दीर्घकालीन रणनीतिअनुसार विशेष उत्पादनहरूको विकास गर्नेछौं। हामी हाम्रो ब्रान्डलाई बलियो बनाउन ग्राहकको सन्तुष्टि बढाउनेछौं, जसले कम्पनीको मूल्य अभिवृद्धि गर्नेछ। साथै हामी मित्सुबिशी मोटर्सलाई विशिष्ट बनाउने तत्वहरूलाई अझ सुदृढ पार्नेछौं।’ कम्पनीले सन् २०३० सम्म ग्राहक सन्तुष्टिमा केन्द्रित रहने लक्ष्य राखेको छ।
अध्यक्ष किशिउराले थपे, ‘अल–न्यु पजेरो यो सोचलाई साकार पार्ने पहिलो मोडल हो। यो हाम्रो फ्ल्यागसिप मोडलको रूपमा पजेरो श्रृंखलाको नेतृत्व गर्नेछ र सम्पूर्ण लाइनअप अघि बढाउनेछ। नयाँ स्तरमा विकास गरिएको अल–न्यु पजेरो प्रिमियम क्रस-कन्ट्री एसयूभी हो, जसमा चालकहरूले हरेक अवस्थामाथि भर पर्न सक्छन्। हामी यसलाई विश्वका विभिन्न बजारहरूमा क्रमशः प्रस्तुत गर्नेछौं।’
कम्पनीले यस आर्थिक वर्षभित्र थाइल्यान्ड, अस्ट्रेलिया र जापानबाट बिक्री सुरू गर्नेछ। त्यसपछि साना र कम्प्याक्ट एसयूभीहरू पनि समावेश गरी पजेरो श्रृंखलालाई अझ विस्तार गर्ने घोषणा गरिएको छ। पुराना पजेरोधनीहरूका लागि नयाँ विकल्प र नयाँ ग्राहकहरूको चाहना जाग्ने गाडी बन्ने अपेक्षा गरिएको छ।
प्रमुख उत्पादन योजना अधिकारी इताकी कुनितोशीले विकास टोलीको तर्फबाट बोल्दै नयाँ पजेरो निर्माणको भावना र प्राविधिक पक्षसम्बन्धी जानकारी दिए। कुनितोशीले भने, ‘मित्सुबिशी मोटर्सको मुख्य लक्ष्य सबै चालकलाई हरेक सडक र मौसममा सुरक्षित रूपमा यात्रा गर्ने क्षमता दिनु हो। मानिसहरूले जुनसुकै परिस्थिति भए पनि आराम र आत्मविश्वाससाथ यात्रा गर्न सकून् भन्ने हाम्रो आकांक्षा हो। अल–न्यु पजेरो मित्सुबिशीको पहिचानलाई दर्शाउने फ्ल्यागसिप मोडल हो।’
उनका अनुसार मानिसहरूले नयाँ गन्तव्यको यात्रा गर्दा उत्साहसँग मिसिएको केही अनिश्चितता पनि हुन्छ। यस्तो अवस्थामा गाडीले चालकलाई हिचकिचाहट बिना अघि बढ्ने आत्मविश्वास दिनुपर्छ।
नयाँ पजेरोको बाहिरी र भित्री डिजाइन ‘ग्रान्ड क्यारिज्मा’ अवधारणामा आधारित छ। कार्यक्रममा प्रोग्राम डिजाइन निर्देशक नोरिहिको योशिमुरुले यस अवधारणाको दर्शन प्रस्तुत गरे।
योशिमुरुले भने, ‘हामीले सुरुमा आफैंलाई सोध्यौं, पजेरो चाहिं किन र किन अहिले? हाम्रो डिजाइनर र विकासकर्ताहरुले यसबारे विस्तृत छलफल गरे। अन्ततः हामी समान सोचमा पुग्यौं — जापानबाट नयाँ पजेरो बनाउने।’ डिजाइन टोलीले पुरानोलाई मात्र निरन्तरता नदिई नयाँ युगको आवश्यकतालाई ध्यानमा राखेको छ।
योशिमुरुले थपे, ‘दुनियामा थुप्रै अफ–रोड ब्राण्ड छन्, तर जापानमा हामीसँग पजेरो छ भन्नेमा हामी विश्वस्त छौं। पहिलो पुस्ताको पजेरोले आधारित मूल्य र मान्यताहरूलाई मात्र पछ्याएन, नयाँ मूल्य सिर्जना गर्यो, जसले विश्वका ग्राहकहरूलाई मन पर्न र अपनाउन प्रेरित गर्यो। म पनि ती ग्राहकहरूमध्ये एक हुँ।’
चौथो पुस्ता आएको २० वर्ष बितेपछि पनि नयाँ पजेरो कस्तो बनाउनुपर्ने बारे छलफल जारी थियो। डिजाइन निर्देशक योशिमुरुले भने, ‘हामीले पुरानो कुराको पुनरुत्थान मात्र गर्ने नभई पूर्वधारणा challenged गर्यौं र पजेरोको वास्तविक सारलाई समेट्ने नवप्रवर्तन ल्यायौं।’
योशिमुरुले डाकार र्यालीका सात पटकका विजेता हिरोसी मासुओकाको सन्देश उद्धृत गर्दै चालकको थकान घटाउनु गाडीको मुख्य गुण भएको बताए। मासुओकाको सन्देश समेट्दै, ‘र्यालीमा मात्र चलाउने सीप महत्वपूर्ण हुँदैन, गाडी चलाउन सजिलो हुनु पनि उत्तिकै जरुरी छ। गाडीले अन्तिम सीमासम्म दौडाउँदै पनि चालकको थकान घटाउनुपर्छ। त्यसैले पजेरोले डाकार र्यालीमा छिटो फिनिसिङ लाइन पार गर्यो र यो कारणले डाकारमा एउटा लिजेन्ड बन्यो।’
नयाँ पजेरोका विशेषता
नयाँ पजेरोले पहिलो पुस्ताको सोझो र तेर्सो रेखामा आधारित बाहिरी बनावट कायम राखेको छ। यसको C-पिलर पहिलो पुस्ताको पजेरोको रोल बारबाट प्रेरित छ। अगाडिको भागमा जापानी मार्शल आर्ट ‘केन्दो’ को प्रतीक राखिएको छ। यहाँ गहिरोसँग कुँदिएका टी-आकारका हेडलाइटहरू प्रयोग गरिएको छ। अगाडिको भागमा दुई किसिमका ग्रिल विकल्प छन् — एउटा होरिजेन्टल बार ग्रिल र अर्को हाइकम्ब ग्रिल।
मित्सुबिशीको प्रख्यात ‘डाइनामिक शिल्ड’ अझ मजबुत रूपमा प्रस्तुत गरिएको छ। पछाडिको भागमा पुराना पुस्ताका गाडीहरूमा रहेको स्पेयर ह्वीललाई षट्कोण ढाँचामा रूपान्तरण गरिएको छ। अगाडिको बोनटलाई मुकुट जस्तो डिजाइन गरिएको छ। रङ छनोटमा दुई मुख्य थिम छन्: ‘आर्मर कपर मेटालिक’ र ‘फ्यान्टम ब्लु मेटालिक’। भित्री भागमा प्राकृतिक लुकका लागि ‘क्यामेल’ रङ प्रयोग गरिएको छ।
नयाँ पजेरोमा विशेष रूपमा विकास गरिएको २.४ लिटर क्लिन डिजेल इन्जिन राखिएको छ। यस इन्जिनमा ‘वाइड–रेन्ज सिंगल भ्यरिएबल ज्योमेट्री टर्बोचार्जर’ (भीजीटी) समावेश गरिएको छ, जसले ४८० न्युटन मिटर अधिकतम टर्क उत्पादन गर्छ। यो इन्जिन नयाँ विकसित ८-स्पीड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ, जसले स्पोर्ट मोडलाई समेत समर्थन गर्दछ।
गाडीको मुख्य संरचनाको रूपमा मजबुत ‘ल्याडर फ्रेम’ प्रयोग गरिएको छ। हाई–टेन्साइल स्टिलको प्रयोगले तौल कम गर्न मद्दत गरेको छ। फ्रेमको बनावटले मोड्ने र बङ्ग्याउने क्षमतामा समेत सुधार गरेको छ। सस्पेन्सन प्रणालीमा अगाडि स्वतन्त्र डबल–विशबोन र पछाडि नयाँ विकसित फाइभ–लिङ्क रिजिड एक्सल छ।
ड्राइविङ क्षमतालाई उत्कृष्ट बनाउन मित्सुबिशीले यसमा ‘सुपर अल–ह्विल कन्ट्रोल’ र ‘सुपर सेलेक्ट फोर ह्विल ड्राइभ–टु’ प्रणाली थपेको छ। चालकले आफ्नो आवश्यकता अनुसार चारवटा मोड छनोट गर्न सक्छन्: टु–ह्वील ड्राइभ, फुल–टाइम फोर–ह्वील ड्राइभ, सेन्टर डिफर्रेसियल लक, र लो–रेन्ज गियर सहितको सेन्टर डिफर्रेसियल लक।
नयाँ पजेरोले बाटो कस्तो भए पनि भित्री कम्फर्टलाई प्राथमिकता दिएको छ। तीनवटा पङ्क्तिका यात्रुहरूका लागि पर्याप्त स्थान छुटाइएको छ। दोस्रो पङ्क्तिको सिट अगाडि–पछाडि सार्न र डबल फोल्डिंग सुविधा पनि छ। यसले तेस्रो पङ्क्तिमा सजिलै बस्न र ओर्लन सहयोग गर्दछ। तेस्रो पङ्क्तिको सिट सामान राख्न वा यात्रु बस्न सरलीकृत समायोजन गर्न सकिन्छ।
यात्रा शान्त बनाउन विन्डसिल्ड र अगाडिका तथा पछाडिका ढोकाका झ्यालहरूमा ध्वनि रोक्ने विशेष ग्लास प्रयोग गरिएको छ, जसले उच्च गतिमा गाडी चलाउँदा वा पानी परेका बेला पनि सामान्य आवाजमा कुराकानी सम्भव बनाउँछ।
भित्री भागमा १४.३ इन्चका दुई ठूला स्क्रिनहरू एउटै ठाउँमा रहेको छ। पुराना पुस्ताका पजेरोमा रहेको प्रसिद्ध ‘ट्रिपल गेज’ डिस्प्ले आधुनिक ‘मल्टी–मिटर’ मा रूपान्तरण गरिएको छ। ड्यासबोर्ड र ढोकाका भागमा जापानी परम्परागत हस्तकला ‘किमेकोमी’ बाट प्रेरित ‘S’ आकारको सिलाइ र नरम सामग्री समावेश गरिएको छ। संगीत र मनोरञ्जनका लागि यामाहा कर्पोरेसनसँगको सहकार्यमा बनाइएको ‘डायनामिक साउन्ड यामाहा अल्टिमेट’ अडियो सिस्टम राखिएको छ। यसमा स्मार्टफोन वायरलेस रूपमा जोड्न सकिने सुविधा समेत छ।
गाडीको परीक्षण जापानको होक्काइडोस्थित तोकाची रिसर्च सेन्टरको नयाँ अफ–रोड ट्र्याकमा गरिएको थियो। यसबाहेक विश्वका विभिन्न सडकको अनुकरण गरिएको अन–रोड ट्र्याकमा समेत परीक्षण गरिएको थियो। गाडीको दिगोपन र क्षमता जाँच्न थाइल्यान्ड, अस्ट्रेलिया र अफ्रिकाका कठिन भूभागहरूमा पनि परीक्षण गरियो।






