Skip to main content

लाइबेरियामा खोप अनुसन्धानका लागि चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण सम्पन्न

लाइबेरियाको ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’मा रहेका ‘हेपाटाइटिस बी’ खोप परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणमा तिनीहरूको दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरी बुस्टर खोप लगाइएको र नङ काटिएको छ। ‘ह्युमेन वल्र्ड फर एनिमल्स’का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम सकिएपछि बाँकी रहेका ६० चिम्पान्जीहरूको स्थायी हेरचाह संस्थाले आफ्नो जिम्मा लिएको हो। २० भदौ, अबुजा (रासस/एपी)।

मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’मा रहेका चिम्पान्जीहरूको दाँत सफा गर्ने, एक्स–रे गर्ने, नङ काट्ने लगायतका स्वास्थ्य परीक्षण सम्पन्न भएको छ, संस्थाकी निर्देशक लिलियाना पाचेको रिकोटेले जानकारी दिइन्। उनका अनुसार सन् १९७० को दशकदेखि २००० को दशकको शुरुमासम्म अमेरिकी अनुसन्धानकर्ताहरूले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जीहरू प्रयोग गरेका थिए। तीमध्ये धेरैलाई सानै उमेरमा जंगलबाट समातिएको थियो।

पश्चिम अफ्रिकाको गिनीपछि सबैभन्दा धेरै चिम्पान्जी लाइबेरियामा पाइन्छ। सङ्ख्यामा आएको तीव्र गिरावटका कारण पश्चिम अफ्रिकी चिम्पान्जीलाई अत्यन्त संकटापन्न प्रजातिको रूपमा वर्गीकृत गरिएको छ। रिकोटेका अनुसार, ती चिम्पान्जीहरू शरीरमा हस्तक्षेप गर्ने किसिमका अनुसन्धानमा प्रयोग भएका थिए र तिनीहरूले लामो समयसम्म विभिन्न परीक्षण र पीडा सहनुपरेको थियो। ‘ह्युमेन वल्र्ड फर एनिमल्स’का अनुसार सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदै गर्दा बाँकी रहेका ६० चिम्पान्जीहरूको स्थायी हेरचाहको जिम्मेवारी संस्थाले लिएको थियो।

अहिले ती चिम्पान्जीहरू म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहभित्र रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन्। एनेस्थेसिया दिएर गरिएका स्वास्थ्य परीक्षणमा चिम्पान्जीहरूको टाउकोदेखि खुट्टासम्मका अंगहरूको जाँच गरिएको थियो। संस्थाका अनुसार परीक्षणको उद्देश्य दीर्घकालीन स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक लक्षणहरू पत्ता लगाउनु र उमेर बढ्दै जाँदा हरेक चिम्पान्जीको लागि आवश्यक हेरचाह योजना तयार गर्नु हो। परीक्षणमा दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतको जाँच गरी उनीहरूलाई बुस्टर खोप लगाइएको र नङ काटिएको छ। बाँकी रहेका चिम्पान्जीहरूको पनि स्वास्थ्य परीक्षण गर्ने योजना बनाइएको छ।

संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म पीडा र कठिनाइ भोगेका चिम्पान्जीहरूको स्वास्थ्य जाँच उनीहरूको हेरचाहमा महत्वपूर्ण भाग भएको बताइन्। हाल ती चिम्पान्जीहरूको औसत उमेर ३० देखि ३५ वर्षको बीचमा छ। विगतका अनुसन्धानहरूले उनीहरूको स्वास्थ्यमा परेको दीर्घकालीन प्रभावबारे विस्तृत नतिजा आउन अझ बाँकी रहेको जानकारी दिइएको छ। रिकोटेले भने, अनुसन्धानका क्रममा भोगिएको पीडाको प्रभाव अझै देख्न सकिन्छ र ती चिम्पान्जीहरूलाई सम्मानजनक जीवन बिताउने दोस्रो मौका पाउँदा आफू खुशी लागेको व्यक्त गरिन्।