Skip to main content

युक्रेनले पोर्न सामग्रीलाई कानुनी मान्यता दिँदै कर लगाउने योजना बनायो

रुससँगको युद्धबीच युक्रेन सरकारले एडल्ट कन्टेन्ट व्यवसायलाई कानुनी मान्यता दिँदै कर लगाउने तयारी गरेको छ, जसबाट वार्षिक २ करोड ५० लाख अमेरिकी डलर बराबर रकम सङ्कलन हुने अपेक्षा गरिएको छ। युक्रेन संसद्ले जुलाई १४ मा वयस्कहरूबीच सहमतिमा उत्पादन गरिने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने विधेयक पहिलो पठनमा २३१ मतले पारित गरेको छ। हालको कानुनअनुसार क्रिएटरहरूले आफ्नो आम्दानीमा कर तिर्न खोज्दा अनुसन्धान, ब्ल्याकमेल र घूसखोरीको समस्या भोगिरहेका छन्।

रुससँग जारी युद्धको समयमा युक्रेन सरकारले देशभर चलिरहेको एडल्ट कन्टेन्ट व्यवसायलाई कानुनी मान्यता दिंदै कर लगाउने योजना अघि बढाएको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार, यसबाट सरकारले वार्षिक रूपमा लगभग २ करोड ५० लाख अमेरिकी डलर कर थप आम्दानी गर्ने अनुमान गरिएको छ। युक्रेनी एक सांसदको भनाइमा, सो रकमले युद्धकालीन आवश्यकताका लागि करिब ३० हजार ड्रोन खरिद गर्न सकिनेछ।

भ्रष्टाचार नियन्त्रण र कर सङ्कलन सुधार सन्दर्भमा युक्रेनमा हालसम्म पोर्नोग्राफी पूर्ण रूपमा कानुनी मान्यता पाएको छैन्। यसलाई वैधानिक बनाउने मुख्य उद्देश्य सरकारको आम्दानी वृद्धिलाई मात्र होइन, व्यापक रूपमा फैलिएको भ्रष्टाचार रोक्नुलाई पनि राखिएको सरकारी अधिकारीहरूले बताएका छन्। यस प्रस्तावका समर्थकहरूका अनुसार, यसबाट प्रहरीलाई साना मुद्दा भन्दा ठूलो अपराधहरूमा ध्यान दिन सजिलो हुनेछ।

युक्रेन संसद्ले जुलाई १४ मा वयस्कहरूबीच सहमतिमा सिर्जना गरिने पोर्न सामग्रीलाई अपराधको दायराबाट हटाउने विधेयक पहिलो वाचनमा पारित गर्यो। यस विधेयकको लागि २३१ सांसदले मतदान गरे, ८ ले विरोध गरे, ३ जना तटस्थ रहे भने ५५ सांसदले मतदान गरेका थिएनन्। अब यो विधेयकलाई अर्को चरणको छलफलका लागि पेश गरिनेछ।