Skip to main content

अमेरिकी डलरको सिक्कामा ट्रम्पको अनुहार, कानुनी खाडलको फाइदा उठाउँदै प्रचार गर्दै

अमेरिकी अर्थ मन्त्रालयअन्तर्गत युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गरी बिक्री र प्रवाह सुरु गरेको छ। अमेरिकी स्थापना २५०औं वार्षिकोत्सव मनाउने सन्दर्भमा जारी सिक्काको डिजाइनमा ‘लिबर्टी’, ‘इन गड वी ट्रस्ट’ र ‘१७७६–२०२६’ लेखिएको छ। जीवित व्यक्तिको तस्बिर सिक्कामा राख्ने कानुनी र नैतिक विवादबीच ट्रम्प प्रशासनले २०२० को कानुनको छिद्र प्रयोग गरेको भन्दै आलोचना भएको छ।

२३ भदौ, काठमाडौं। बुधबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गर्‍यो र बिक्री तथा प्रचलन शुरु गर्‍यो। अमेरिका स्थापना भएको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने अवसरमा यो सिक्का जारी गरिएको हो। आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो दुर्लभ घटना हो। सन् १८६६ यता अमेरिकी सिक्कामा जीवित व्यक्तिको तस्बिर राखिएको थिएन।

सिक्काको डिजाइन र विशेषताहरू अमेरिकी अर्थ मन्त्रालय र युएस मिन्टले संयुक्त रूपमा जारी गरेको यो नयाँ एक डलर सिक्काको अग्रभागमा राष्ट्रपति ट्रम्पको औपचारिक सुट र टाइ लगाएको गम्भीर मुद्राको तस्वीर राखिएको छ। सिक्काको पछाडि भागमा अमेरिकी राष्ट्रपतीय छाप र परम्परागत राष्ट्रिय पक्षी राजगरुडको चित्र छ; जसको छातीमा रहेको ढालमा ‘२५०’ अंकित छ। तर, ट्रम्प प्रशासनले २०२० मा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ मा भएको कानुनी खाडलको उपयोग गर्दै यो सिक्का जारी गरेको छ।

विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरू र राजनीतिक विश्लेषकहरूले कडा आलोचना गरेका छन्। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा देशमा बढ्दो महँगी र जीवनयापन चुनौतीको समयमा राष्ट्रपतिले आफ्नो अनुहार सर्वत्र फैलाउने प्रयास गरेको दोष लगाएका छन्। डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा कटु टिप्पणी गर्दै भनिन्, ‘अमेरिकीहरूले खाद्यान्न, आवास र स्वास्थ्य सेवा जस्ता आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका बेला डोनाल्ड ट्रम्प के गर्दै छन्? उनी आफू भेट्टाएका हरेक सतहमा आफ्नो अनुहार चिप्काउने प्रयासमा छन्।’