Skip to main content

ब्रिक्स शिखर सम्मेलनमा सी चिनपिङको सहभागिता अझै अनिश्चित

सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङको सहभागिता बारे चीनले अझै स्पष्ट जवाफ दिएको छैन। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहकार्यलाई धेरै महत्व दिन्छ र सम्मेलन सफल बनाउन भारतलाई समर्थन गर्ने बताइन्। माओ निङले चीनका तर्फबाट सम्मेलनमा को सहभागी हुने भन्ने प्रश्नमा, “तपाईंको यो प्रश्नबारे हाल मसँग कुनै जानकारी छैन।” भनिन्।

२३ भदौ, काठमाडौं। सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनपिङको सहभागिता बारे स्थिति अझै अस्पष्ट छ। चीनले मंगलबार सी चिनपिङको सहभागिताको सम्भावनाबारे कुनै स्पष्ट जवाफ दिएको छैन। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीनले ब्रिक्स सहकार्यलाई निकै महत्त्व दिने बताएकी छिन्। उनले यस वर्ष ब्रिक्स नेताहरूको शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्न भारतलाई समर्थन गर्ने जनाइन्।

नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा चीनका तर्फबाट को सहभागी हुने र सम्मेलनबारे चीनको के अपेक्षा छ भनेर माओ निङलाई सोधिएको थियो। सो प्रश्नको उत्तरमा उनले भनिन्, “तपाईंको यो प्रश्नबारे हाल मसँग साझा गर्नका लागि कुनै जानकारी छैन।” सी चिनपिङको भारत भ्रमणबारे अनुमानहरू भइरहेका बेला माओ निङको यो जवाफ आएको हो।

१८औँ ब्रिक्स शिखर सम्मेलनमा चीनको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा चीनले अहिलेसम्म स्पष्टता दिएका छैन।