एनभीएलमा खप्तडले जितविहीन हुँदै, कर्णाली र काठमाडौं बीच फाइनल प्रवेशको प्लेअफ खेल

समाचार सारांश खप्तड फाल्कन्स सुदूरपश्चिमले काठमाडौं रेड्ससँग ३-२ सेटमा पराजित हुँदै नेपाल भलिबल लिगको पहिलो संस्करण जितविहीन समाप्त गर्यो। लिग चरणमा सबै पाँच खेल हारेको खप्तडले काठमाडौंविरुद्ध पहिलो पटक सेट जित्दै १ अंक जोड्न सफल भयो। कर्णालीले मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गरी ११ अंकसहित दोस्रो स्थान लिएको छ र काठमाडौंसँग फाइनल प्रवेशको लागि प्लेअफ खेल्नेछ। २६ भदौ, काठमाडौं। खप्तड फाल्कन्स सुदूरपश्चिमले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण जितविहीन हुँदै सकेको छ। बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा खप्तडले कडा प्रतिस्पर्धा प्रस्तुत गरे पनि काठमाडौं रेड्ससँग ३-२ को सेटमा पराजित भयो। लिग चरणका सबै पाँच खेलमा पराजित भए पनि काठमाडौं विरुद्ध पहिलो पटक सेट जित्न सफल भएपनि खप्तडले खेल पाँचौं सेटसम्म पुर्याए पनि जित हात पार्न सकेन। पाँचौं सेटमा पराजित हुँदा खप्तडले १ अंक जोड्न सफल भयो। काठमाडौंले खप्तड विरुद्ध सुरुमा विदेशी खेलाडीलाई आराम दिँदै नेपाली खेलाडी मात्र मैदानमा उतारेको थियो। तर खप्तडले उत्कृष्ट चुनौती दिएपछि काठमाडौंले विदेशी खेलाडीहरूलाई पनि मैदानमा ल्याएर जीत सुनिश्चित गर्यो। पहिलो सेट खप्तडले २५-१९ को अन्तरले जित्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो सेट काठमाडौंले २५-१९ को जितका साथ खेल बराबरी गर्यो। तेस्रो सेट खप्तडले २५-२० को अन्तरले फेरि अग्रता लियो। तर त्यसपछि काठमाडौंले लगातार दुई सेट आफ्नो पक्षमा पार्यो। चौथो सेट काठमाडौंले २५-१९ को अन्तरले जितेर खेललाई पाँचौं सेटमा पुर्यायो। निर्णायक पाँचौं सेटमा काठमाडौंले १५-१३ को अन्तरले विजय हासिल गर्यो। लिग चरणमा ५ मध्ये ४ खेल जितेको काठमाडौंले १० अंक जोडेर तेस्रो स्थान कायम राख्यो। अब काठमाडौंले फाइनल प्रवेशका लागि कर्णाली शिवराजसँग शुक्रबार प्लेअफ खेल्नेछ। कर्णालीले बिहीबार मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो। ४ खेल जितेको कर्णाली ११ अंकसहित दोस्रो स्थानमा रहेको छ। कर्णालीले मधेशलाई २५-२०, २५-२०, २१-२५, २५-१९ को सेटमा पराजित गर्यो। पहिलो खेलमा कर्णालीसँग पराजित भएपनि त्यसपछि लगातार ४ खेल जितेको अन्नपूर्ण स्पाइकर किंग्स १२ अंकसहित शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरिसकेको छ। एनभीएलमा शुक्रबार कर्णाली र काठमाडौंबीच फाइनल प्रवेशका लागि प्लेअफ खेल हुनेछ। प्लेअफको विजेताले शनिबार फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।






