
फाइल तस्वीर २७ भदौ, काठमाडौं। १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा सुरु भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिएका छन्। यी तीन नेता सन् २०१६ मा गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा ११ सदस्य राष्ट्रका अतिरिक्त १० साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्।
गलवान झडपपछि जिनपिङको पहिलो भारत भ्रमण करिब ७ वर्षको अन्तरालपछि भएको हो। शनिबार बिहान बेइजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका जिनपिङको यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ। सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि मोदी र जिनपिङबीच भारतमा पहिलोपटक द्विपक्षीय बैठक हुँदैछ। शनिबार साँझ स्थानीय समयअनुसार ६ देखि ७ बजेसम्म भारत मण्डपममा यी दुई नेताबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ।
विश्वको आधा जनसंख्या र अमेरिकाभन्दा ३ गुणा ठूलो अर्थतन्त्र ब्रिक्सको ताकत सदस्य राष्ट्रको सङ्ख्यामा मात्र सीमित छैन। हाल ११ सदस्य राष्ट्र रहेको यस सङ्गठनभित्र विश्वको करिब ४९.५ प्रतिशत जनसंख्या बसोबास गर्छ। अर्थतन्त्रको कुरा गर्दा, क्रय शक्ति समताका आधारमा ब्रिक्स देशहरूको कुल अर्थतन्त्र विश्वको करिब ३९ प्रतिशत छ, जुन अमेरिकाको अर्थतन्त्रभन्दा करिब ३ गुणाले बढी हो।
भारतको अध्यक्षतामा भइरहेको यस वर्षको सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र सहज अनलाइन भुक्तानी प्रणालीमा जोड दिइनेछ। मोदीले विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग शृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दैछन्। सम्मेलनको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। सुरक्षामा तैनाथ प्रहरीका सवारीसाधनसमेत स्निफर डग प्रयोग गरी जाँच गरिरहेका छन्।






