स्विडेनमा मतगणना जारी, मध्य-वाम गठबन्धन ३ सिटले अगाडि, वर्तमान सरकार संकटमा

स्विडेनको आम चुनावको ९४.४ प्रतिशत मतगणनामा विपक्षी मध्य-वाम गठबन्धनले १७६ सिट र सत्तासीन दक्षिणपन्थी गठबन्धनले १७३ सिट प्राप्त गर्ने अनुमान गरिएको छ। सोशल डेमोक्र्याटिक पार्टीकी नेतृ म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धनले अग्रता लिइरहेको र यही नतिजा कायम रहे नयाँ सरकार बन्ने बताएकी छन्। प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले अन्तिम नतिजापछि सम्भावित गठबन्धनबारे छलफल गर्ने र ढिलो मतगणना बुधबारदेखि सुरु हुने जानकारी दिएका छन्। २९ भदौ, काठमाडौं।
स्विडेनमा सम्पन्न आम चुनावको मतगणना जारी रहँदा अन्तिम परिणाम अझै स्पष्ट नभएको छ। तर सत्तासीन दक्षिणपन्थी गठबन्धन पछि परेको देखिन्छ। सोशल डेमोक्र्याटिक पार्टीकी नेतृ म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धन अग्रता लिइरहेको र यही नतिजा कायम भएमा नयाँ सरकार गठन हुने जानकारी आफ्ना समर्थकहरूलाई दिएकी छन्। आइतबार स्थानीय समय अनुसार राति ८ बजे मतदान केन्द्रहरू बन्द भएका थिए।
सोमबार बिहान स्विडेनी निर्वाचन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ९४.४ प्रतिशत मतगणना पछि ३४९ सिट भएको संसदमा विपक्षी मध्य-वाम गठबन्धनले १७६ सिट जित्ने अनुमान गरिएको छ। तर सत्तासीन दक्षिणपन्थी गठबन्धनले १७३ सिट मात्रै ल्याउने देखिएको छ। यद्यपि, दशकौंसम्म स्विडेनमा शासन गरेको र अहिले सबभन्दा ठूलो दल रहेको एन्डरसनको पार्टीले यो चुनावमा एक शताब्दीमा सबैभन्दा खराब नतिजा ल्याउने संकेत देखाएको छ। उक्त पार्टीले २८.१ प्रतिशत मत प्राप्त गरेको छ, जुन सन् २०२२ को तुलनामा २.२ प्रतिशत कम हो।
स्विडेनका प्रधानमन्त्री तथा सत्तासीन गठबन्धनका नेता उल्फ क्रिस्टर्सनले निर्वाचनपश्चात अन्य दलका नेताहरूसँग छलफल गर्ने बताएका छन्। उनले भने, ‘अन्तिम नतिजा आएपछि सम्भावित गठबन्धनका विकल्पहरू खोज्नु उपयुक्त हुन्छ। स्विडेनी संसदमा निर्विवाद गैर-समाजवादी बहुमत वा गैर-वामपन्थी आर्थिक विचारधाराका समर्थकहरूको बहुमत छ। म त्यस विषयमा कुनै सम्भावना छ कि भनी अवश्य खोजी गर्नेछु।’
स्विडेन डेमोक्र्याट पार्टीका नेता जिमी एकेसनले अर्को सरकार कसले बनाउने हो त्यो ‘आज राती नै थाहा नहुने’ बताए। उनका पार्टीलाई १७.६ प्रतिशत मत प्राप्त भएछ, जुन सन् २०२२ को २०.५ प्रतिशतको तुलनामा करिब ३ प्रतिशत कम हो। यस कारण उनका पार्टी क्रिस्टर्सनको मोडरेट्स पार्टीभन्दा पछि तेस्रो स्थानमा धकेलिएको छ। ढिलो आएको हुलाक मतपत्र र विदेशस्थित स्विडेनी दूतावासहरूमा खसालिएका मतहरूको गणना बुधबारदेखि सुरु हुनेछ।
अन्तिम समयमा कडा प्रतिस्पर्धामा पहिलो चरणमा क्रिस्टर्सनको चार दलीय गठबन्धन (राष्ट्रवादी ‘स्विडेन डेमोक्र्याट्स’ सहित) माथि वामपन्थी गठबन्धनले सहज जित निकाल्ने देखिएको थियो। प्रारम्भिक सर्वेक्षणले विपक्षी गठबन्धनलाई करीब १० प्रतिशत अग्रता दिएको थियो। तर चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा कडा भयो र अन्तिम हप्तामा अग्रता २-३ प्रतिशतसम्म झरेपछि चुनाव निकै रोमाञ्चक बन्न पुग्यो। एन्डरसनले जित्न सफल भएमा, यसले युरोपका वामपन्थी झुकाव भएका पार्टीहरूलाई सधैंको दक्षिणपन्थी र अति-दक्षिणपन्थी दलहरूको बढ्दो प्रभावमा केहि राहत दिनेछ।






