ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहमा पुटिनसँग नजिकका व्यापारीले खर्च गरेका लाखौं डलर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाह समारोहका केही खर्च रूसी व्यापारी उमर क्रेमलेभले बेहोरेको पुष्टि गरेका छन्। क्रेमलेभले बहामासको प्राइभेट टापुमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य र अन्य खर्चहरू वहन गरेका थिए। यो जानकारी सार्वजनिक भएपछि अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि विदेशी प्रभावको प्रश्न उठेको छ।
डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा सम्पन्न भएको थियो। उनीहरूले इन्स्टाग्राममार्फत बहामासस्थित एउटा प्राइभेट टापुमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य उमर क्रेमलेभले गरेको जानकारी दिएका छन्। उमर क्रेमलेभ अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष हुन्। ट्रम्प जुनियर र बेटिनाले जारी गरेको बयानमा क्रेमलेभलाई आफ्नो नजिकको साथी बताइएको छ। उनीहरूले यसलाई साथीको तर्फबाट पाइएको विवाह उपहार भन्दै आभार पनि व्यक्त गरेका छन्।
विवाहपछिको दुई दिने उत्सव अर्को टापुमा आयोजित थियो। उक्त टापुको एक रात भाडा करिब १ लाख डलर रहेको थियो। समारोहसँग सम्बन्धित अन्य धेरै खर्चहरू पनि क्रेमलेभले बेहोरेका थिए। प्रो पब्लिकाको अनुसन्धान अनुसार क्रेमलेभले विवाह समारोहमा लाखौं डलर खर्च गरेका थिए। यो घटना सार्वजनिक भएपछि अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि विदेशी प्रभावको विषयमा प्रश्न उठेका छन्। यी खर्चहरूको सूचना सबैभन्दा पहिला प्रो पब्लिकाको रिपोर्टमा प्रकाशित भएको हो। अमेरिकी नैतिकता नियमन गर्ने विभिन्न सङ्गठनहरूले यस विषयमा चिन्ता व्यक्त गर्दै आलोचना गरेका छन्। राष्ट्रपति पुटिनसँग नजिकको सम्बन्ध भएका व्यक्तिबाट राष्ट्रपतिको छोरेले महँगो उपहार स्वीकार गरेकोमा उनीहरू असन्तुष्ट छन्।






