Skip to main content

रुस र युक्रेनबीच एआई युद्ध प्रविधिमा तीव्र प्रतिस्पर्धा

रुस–युक्रेन युद्धमा एआई-संचालित मानवरहित ड्रोन, स्वतः लक्ष्य पहिचान सफ्टवेयर र स्वायत्त सैन्य कमान्ड प्रणालीको प्रतिस्पर्धा तीव्र भईरहेको छ। न्युयोर्क टाइम्सको विश्लेषण अनुसार जुलाई ६ मा जापोरिज्जियामा रुसी ड्रोन आक्रमणमा १८ वर्षीया तेतियाना बुबिनेट्ससहित तीन सर्वसाधारणको मृत्यु भएको पहिलो अभिलेखित एआई-स्वायत्त आक्रमण वनेको थियो। विश्लेषकहरूले एआईले लक्ष्य पहिचान र आक्रमण छिटो बनाउने भए पनि नागरिक र सैनिक छुट्याउन कठिनाइले नैतिक र कानुनी प्रश्नहरू उत्पन्न गरेको बताएका छन्। ३० भदौ, काठमाडौं। रुस र युक्रेनबीच जारी द्वन्द्व पुराना सैन्य प्रविधिबाट अघि बढेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित पूर्ण स्वायत्त युद्ध युगमा प्रवेश गरेको छ। दुवै पक्ष एआई-संचालित मानवरहित ड्रोन, स्वतः लक्ष्य पहिचान गर्ने सफ्टवेयर र अत्याधुनिक सैन्य कमान्ड प्रणाली विकास गर्दै तीव्र प्रतिस्पर्धा गरिरहेका छन्।

गत जुलाई ६ मा युक्रेनको दक्षिणी शहर जापोरिज्जियास्थित एउटा पेट्रोल पम्पमा रुसी ड्रोन विस्फोट हुँदा १८ वर्षीया लेखाशास्त्रकी छात्रा तेतियाना बुबिनेट्सको मृत्यु भयो। भीषण साउन्डवेभ र ड्रोनका छर्राहरूका कारण उक्त आक्रमणमा बुबिनेट्ससँगै अरु दुई सर्वसाधारणको पनि मृत्यु भएको थियो। न्युयोर्क टाइम्सको विश्लेषण अनुसार यो रुसी एआई-संचालित पूर्ण स्वायत्त ड्रोनद्वारा गरिएको पहिलो अभिलेखित आक्रमण हो। युक्रेनी अधिकारीहरूले ड्रोनका भग्नावशेष परीक्षण गर्दा त्यसमा अमेरिकी प्रविधि कम्पनी एनभिडियाको एआई-संचालित मिनीकम्प्युटर प्रयोग भएको भेटाएका छन्।

युद्धमैदानमा एआईको प्रयोग केवल ड्रोनमा सीमित छैन। किङ्स कलेज लन्डनकी रक्षा अध्ययन अनुसन्धानकर्ता मरिना मिरोनका अनुसार यो प्रणालीलाई ‘रिकोनिसन्स-स्ट्राइक आर्किटेक्चर’ भनिन्छ। मिरोन भन्छिन्, “यो केवल ड्रोनमा एआई हुनु र त्यसले केही देखेर आक्रमण गर्नु मात्र होइन; ड्रोनले देखेको जानकारी सफ्टवेयर कम्प्लेक्समा पठाउन सक्छ, जसले युद्धमैदानको नक्शामा जीपीएस कोडहरू म्याप गर्छ र नजिकको तोपखाना इकाइलाई सूचित गर्छ।” यस्ता प्रणालीहरू केन्द्रीय कमान्ड जत्तिकै काम गर्छन्। एआईले ड्रोन वा अन्य सैन्य उपकरणहरुबाट सङ्कलित विशाल डेटा तुरुन्तै प्रशोधन गर्नेछ।

युक्रेनले आफ्नो एकीकृत कमान्ड प्रणालीलाई ‘डेल्टा’ नाम दिएको छ भने रुसले ‘स्वोड ट्याक्टिकल सिचुएसनल अवेयरनेस कम्प्लेक्स’ नामक कमान्ड प्रणाली सन् २०२५ को अन्त्यतिर सफल परीक्षण गरी युद्ध अगाडि तैनाथ गर्दैछ। दुवै पक्ष भन्छन् कि एआई डेटा प्रशोधनपछि डिभिसन सपोर्ट सिस्टम (डीएसएस) ले कमान्डरलाई विकल्पहरू प्रस्तुत गर्ने र अन्तिम निर्णय मानिसले लिने गरेका छन्। तर मिरोनले यसमा शंका व्यक्त गरेकी छन्, “यो कत्तिको सत्य हो भनेर थाहा पाउन सकिन्न। तनावपूर्ण परिस्थितिमा कमान्डरहरूले प्रायः एआईको सुझाव अनुसार नै निर्णय गर्छन्।”

युक्रेनी रक्षा मन्त्रालयका सल्लाहकार सर्ही बेस्क्रेस्तनोभ (जसलाई ‘फ्ल्याश’ भनिन्छ)ले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, “सबै कुरा यसमा निर्भर हुनेछ। नेभिगेसन, लक्ष्य खोज र आक्रमणहरू पूर्ण रूपमा स्वायत्त हुनेछन्।” हाल एआई ड्रोनको प्रयोग लामो दूरीको आक्रमणको अन्तिम चरण (लास्ट–माइल अपरेसन्स) मा सीमित छ। युक्रेनको ‘यास्नी ओछी’ ड्रोन स्ट्राइक युनिटका कमान्डर हेओर्घी भोल्कोभका अनुसार फर्स्ट–पर्सन भ्यु (एफपीभी) ड्रोनहरूले इलेक्ट्रोनिक वारफेयर (रेडियो संकेत जाम गर्ने प्रविधि) ले सिग्नल हराउन सक्छ।

यसरी सिग्नल हराउँदा जडान गरिएको एआई मोड्युलले स्वतः नियन्त्रण लिएर लक्ष्यमा सही प्रहार गर्न सक्षम हुन्छ। युक्रेनी प्रविधि कम्पनी ‘द फोर्थ ल’ का संस्थापक यारोस्लाव अझन्युकका अनुसार यो केवल स्वायत्त ड्रोन प्रदर्शनको होड मात्र नभई स्वायत्ततालाई भरपर्दो, सस्तो र ठूलो मात्रामा तैनाथ गर्ने प्रतिस्पर्धा हो। अझन्युक भन्छन्, “इलेक्ट्रोनिक वारफेयर, बढ्दो संलग्नता दूरी र ड्रोन संख्या मानव-नियन्त्रित प्रणालीहरूलाई कम प्रभावकारी बनाउँदैछ। स्वायत्तताले ठ्याक्कै यी सीमाहरूलाई समाधान गर्न सक्छ।” उनका अनुसार आगामी ६ देखि १२ महिनाभित्र यस प्रविधिले युद्धको परिणाम परिवर्तन गर्नेछ।

तर यस द्रुत एआई प्रयोगले गम्भीर नैतिक र कानुनी प्रश्नहरू पनि जन्माएको छ। सेन्टर फर स्ट्र्याटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) की वरिष्ठ फेलो क्याटरिना बोन्दार भन्छिन्, “एआईले कुनै विवेक प्रयोग गर्दैन। प्रणालीले आफूले के गरिरहेको छ भन्ने बुझ्दैन; यो केवल एल्गोरिदम र मानवीय नियमहरू पालना गर्छ। एआईलाई लक्ष्य पहिचान र ती लक्ष्यमा हस्तक्षेप गर्न तालिम दिनुपर्छ।”

बोन्दारले भनिन्, “बस र ट्याङ्कबीच फरक छुट्याउन सजिलो भए तापनि रुसी र युक्रेनी सैनिक तथा सर्वसाधारण छुट्याउन कठिन हुन्छ। खराब मौसम र कमजोर क्यामेरा अवस्थाले नागरिक र सैनिकबीच छुट्याउन नसक्दा एआईले गलत हमला गर्न सक्छ।” उनले थपिन्, “त्यसैले निर्णय गर्ने को हो र गल्तीहरूको जिम्मेवारी कसको हुन्छ भन्ने विषयमा ठूलो बहस चलिरहेको छ।” यो द्रुत एआई आवेदनले युद्धलाई अझ घातक र अनियन्त्रित बनाउने खतरा पनि बढाएको छ।