Skip to main content

अस्ट्रेलियाको आप्रवासन नीतिमा कडाइ, अधिकांश विद्यार्थीले परिवार ल्याउन पाउने छैनन्

अस्ट्रेलियाले भिसा अवधि सकिएपछि पनि बस्ने र भिसा हपिङ गर्नेहरूलाई लक्षित गर्दै आप्रवासन प्रणालीलाई कडा बनाएको छ। गृह मामिला मन्त्री टोनी बर्कले नेट ओभरसिज माइग्रेसन आगामी वर्षसम्म २ लाख २५ हजारमा झार्ने सरकारको लक्ष्य रहेको जानकारी दिएका छन्। सरकारले स्वास्थ्य, निर्माण, शिक्षा, कानुन कार्यान्वयन, रक्षा र कृषि क्षेत्रका सीपयुक्त कामदारलाई प्राथमिकता दिने जनाएको छ।

सिड्नीमा १ असोजमा भएको एक कार्यक्रममा बर्कले नयाँ नियमहरू सार्वजनिक गर्दै भने, “सरकारले शुद्ध वैदेशिक आप्रवासनलाई हालको करिब २ लाख ९२ हजारबाट आगामी वर्षसम्म २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ।” उनले भनेका छन् कि सरकारले आप्रवासनलाई समर्थन गर्ने भए पनि प्रणालीको दुरुपयोग गर्ने गतिविधिहरूलाई स्वीकार नगर्ने नीति लिएको छ।

नयाँ व्यवस्थाअन्तर्गत भिसा अवधि सकिएपछि अस्ट्रेलियामा बस्नेहरूलाई लक्षित गरिनेछ। विद्यार्थी भिसा प्रयोग गरेर अर्को भिसामा निरन्तर रूपमा स्विच गर्ने ‘भिसा हपिङ’ रोक्न नियम कडा गरिनेछ। यसका साथै, अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्ना डिपेन्डेन्ट र परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने विषयमा पनि कडाइ गरिनेछ।

हाल परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीहरूको परिवारलाई छुट्ट्याउने नयाँ व्यवस्था लागू नहुने बताइएको छ। बर्कले भने, “जसको परिवार अहिले नै भिसामा जोडिएको छ र अस्ट्रेलियामा छ, त्यस परिवारलाई छुट्ट्याउने छैनौं।”