के एआईले मानव जातिलाई समाप्त गर्न सक्छ? विज्ञहरूले जोखिमहरू औँल्याए

एआई विकासको तीव्र गति र यसले मानव सभ्यतामा पार्न सक्ने सम्भावित जोखिमका विषयमा विश्वव्यापी रूपमा व्यापक बहस भइरहेका छन् र अझ उच्च तहमा छलफलको माग बढ्दो छ। प्रविधि क्षेत्रका शीर्ष वैज्ञानिक, उद्यमी तथा नीति निर्माताहरूले एआईका कारण हुन सक्ने छोटो समय र लामो समयका असरबारे गम्भीर चिन्ता व्यक्त गरिरहेका छन्। एकातिर एआईले मानव जीवनलाई सहज बनाउने दाबी गरिन्छ भने अर्कोतिर यसले सम्पूर्ण मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने सम्भावनाबारे पनि चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हालका दिनहरूमा एआई सुरक्षासम्बन्धी गम्भीर दाबीहरू सार्वजनिक भएका छन्। एआईका कारण मानव विनाशको जोखिम १० प्रतिशतसम्म रहेको, एआई आणविक हतियारभन्दा पनि बढी खतरनाक हुन सक्ने र यसका बोटनेटले सम्पूर्ण इन्टरनेट प्रणाली ठप्प पार्न सक्ने जस्ता चेतावनीहरू आएको छ। यद्यपि, केही विज्ञहरूले यी दाबीहरूलाई ठूला प्रविधि कम्पनीहरूको व्यापारिक रणनीति वा अतिरञ्जित भयका रूपमा विश्लेषण गरेका छन्।
एआई अनुसन्धानकर्ता कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत दारियो अमोदेईले सेप्टेम्बर १२ मा गम्भीर चेतावनी दिएका थिए। उनका अनुसार आगामी ६ देखि १२ महिनाभित्र एआईको नयाँ स्वरूपले निरन्तर रहने बोटनेटमार्फत सम्पूर्ण इन्टरनेट प्रणाली नियन्त्रणमा लिन सक्नेछ, जसले अर्बौं डलरको आर्थिक क्षति गर्न सक्छ। तर, न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा एआई विश्लेषक ग्यारी मार्कसले यो दाबीलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने बताए। उनका अनुसार सम्पूर्ण इन्टरनेट प्रणालीलाई यति सजिलै जोखिममा पार्नु तर्कहीन हो, र प्रविधि प्रयोगशालाहरूको चरम लापरबाही बिना यस्तो हुनु सम्भव हुँदैन।
पी(डूम) को बहसमा एन्थ्रोपिकका एलाइनमेन्ट साइन्स प्रमुख इभान हबिङ्गरले सेप्टेम्बर ९ मा भनेका थिए, ‘एआईले आगामी दशकभित्र मानिसलाई नष्ट गर्न सक्ने सम्भावना १० प्रतिशतभन्दा बढी छ।’ यद्यपि, एआई नाउ इन्स्टिच्युटकी प्रमुख वैज्ञानिक हाइडी खलाफजस्ता विज्ञहरू यस्ता प्रतिशतमा आधारित पूर्वानुमानहरूलाई शंका गर्छन्। उनी भन्छिन्, ‘यस्ता दाबीहरू न परीक्षण गर्न सकिन्छ, न प्रमाणित। त्यसैले यिनीहरूलाई वैज्ञानिक मान्न सकिन्न।’
विश्वका धनी व्यक्तिहरू र स्पेसएक्स प्रमुख एलन मस्कले सेप्टेम्बर १० मा एआई जोखिमप्रति भएका अत्यधिक चर्चालाई एक नियोजित साइअप (मनोवैज्ञानिक रणनीति) भनेका छन्। मस्कका अनुसार ठूला एआई कम्पनीहरूले सरकारलाई कडा नियमन बनाउन आग्रह गर्नुको पछाडि नयाँ र साना प्रतिस्पर्धी कम्पनीहरूलाई बजारमा प्रवेश गर्न नदिने रणनीति लुकेको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि ठूला एआई कम्पनीहरूले सरकारमा गएर नियमन माग्नु अनौठो र यो ट्रोजन हर्सजस्तो देखिएको बताएका छन्।
बेलायतका पूर्व रक्षामन्त्री देस ब्राउनले सेप्टेम्बर ७ मा भनेका थिए, ‘सुपरइन्टेलिजेन्ट एआई आणविक हतियारजत्तिकै वा त्यसभन्दा बढी घातक हुन सक्छ।’ तर मुख्य कुरा यो हो कि यस्तो सुपरइन्टेलिजेन्ट एआई अहिलेसम्म अस्तित्वमै आएको छैन। एआई फ्युचर्स प्रोजेक्टका अनुसार सन् २०२८ डिसेम्बरअघि यस्तो एआई आउने सम्भावना छैन भने ओपनएआईका साम अल्टम्यानले यसका लागि सन् २०३५ सम्म लाग्न सक्ने बताएका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सेप्टेम्बर ८ मा भनेका छन्, ‘यदि एआई दौडमा चीनले अग्रता लियो भने अमेरिकाका लागि त्यो अपूरणीय क्षति हुनेछ।’ यस तर्कले एआईलाई शीतयुद्धकालीन आणविक हतियारजस्तै निर्णायक हतियारको रूपमा देखाइएको छ। एन्थ्रोपिकका अमोदेईले पनि ‘चीनको अग्रता विश्वका लागि खतरा हुन सक्ने’ बताएका छन्।
–गार्डियनबाट






