
अमेरिकी प्रतिबन्ध र एएसएमएलको ईयूभी मेसिन बिक्री अवरुद्ध भएपछि चीनले पुरानो ईयूभी प्रविधि उपयोग गरी ३–एनएमभन्दा साना चिप बनाउने काम सुरु गरेको छ। चाइनिज एकेडेमी अफ साइन्सेसले डियुभी प्रविधिबाट गेट–अल–अराउन्ड उपकरण विकासमा प्रारम्भिक मार्गनिर्देशन गरेको र स्ट्याक्ड न्यानोशिट–च्यानल जिएए सिमोस ट्रान्जिस्टरको प्रारम्भिक एकीकरण पूरा गरेको छ। इन्स्टिच्युट अफ माइक्रोइलेक्ट्रोनिक्सका विज्ञ ये टियानचुनले यसलाई चीनको सब–३–एनएम उन्नत उत्पादनका लागि नयाँ प्रारम्भिक एमओएस ट्रान्जिस्टर प्रक्रियाको बाटो भनेर व्याख्या गरेका छन्।
अमेरिकाले लगाएको प्रतिबन्धका कारण अत्याधुनिक ईयूभी उपकरण प्राप्त नहुँदा चीनले पुरानो प्रविधि प्रयोग गरी ३–एनएमभन्दा साना चिप निर्माणमा जोड दिएको छ। चिनियाँ अनुसन्धानकर्ताहरूले यस पुरानो ईयूभी लिथोग्राफी प्रविधिबाट यस्तो उपलब्धि हासिल गरेका छन्। अमेरिकी निर्यात नियन्त्रण नियमअन्तर्गत डच कम्पनी एएसएमएलले ७–एनएमभन्दा साना चिप बनाउनका लागि आवश्यक अत्याधुनिक ईयूभी मेसिन चीनलाई बेच्न पाएको छैन।
ताइवानी सञ्चारमाध्यम डिजिटाइम्सले उल्लेख गरेको छ कि राज्यको लगानी रहेको चाइनिज एकेडेमी अफ साइन्सेस (सीएएस) ले डियुभी प्रविधि प्रयोग गरी गेट–अल–अराउन्ड (जीएए) उपकरण विकासमा प्रारम्भिक मार्गनिर्देशन गरेको छ। इन्स्टिच्युट अफ माइक्रोइलेक्ट्रोनिक्स (आईएमईसीएएस) का विज्ञ ये टियानचुनको भनाइ उद्धृत गर्दै यो समाचार प्रकाशित गरिएको छ। उनीहरूले डियुभी उपकरण प्रयोग गरी स्ट्याक्ड न्यानोशिट–च्यानल जिएए सिमोस ट्रान्जिस्टरको प्रारम्भिक एकीकरण सम्पन्न गरेको जानकारी दिएका छन्।
चीनले विश्वव्यापी सेमिकन्डक्टर उद्योगका नेतृत्व प्रविधिहरूलाई अनुकरण गर्दैछ। सेमिकन्डक्टर उत्पादनमा फिनफेट प्रविधिको पछि जिएए ट्रान्जिस्टर संरचना अर्को महत्वपूर्ण प्रगति मानिन्छ। स्यामसुङ इलेक्ट्रोनिक्सले जिएए प्रविधिको प्रयोग गरी ३–एनएम चिप्स व्यावसायिक रूपमा उत्पादन गर्न सुरु गरिसकेको छ। ताइवानी कम्पनी टीएसएमसीले सन् २०२५ को अन्त्यतिर आफ्नो २–एनएम नोडका लागि जिएए प्रविधि अपनाउने योजना बनाएको छ।
तर, सीएएसले प्राप्त गरेको यो सफलता अहिलेसम्म ठूलो मात्रा मा व्यावसायिक उत्पादन योग्य बनेको छैन। ये टियानचुन आईएमईसीएएसका पूर्व प्रमुख हुन् र चीनको चिप निर्माण उपकरण तथा क्षमता अभिवृद्धि गर्ने सरकारी मुख्य आयोजना ‘०२’ का प्रमुख प्रविधिविज्ञ मानिन्छन्। यस विषयमा हालसम्म सीएएसले कुनै प्रतिक्रिया दिएको छैन। यसै वर्ष चीनको चिप आत्मनिर्भरता अभियानमा सबैभन्दा ठूलो योगदान हुवावे टेक्नोलोजीले दिएको छ जसले गत मे महिनामा समय मापनमा आधारित ‘टाउ स्केलिङ एल’ सार्वजनिक गरेको थियो।






