Skip to main content

वर्षाका कारण राजमार्ग र विद्यालयमा प्रभाव, मौसम सुधार कहिलादेखि हुने?

अहिले देशका अधिकांश भागहरूमा भइरहेको वर्षाका कारण दैनिक जीवनमा ठुलो प्रभाव परेको अधिकारीहरूले बताएका छन्। बङ्गालको खाडीमा विकसित मौसम प्रणालीको प्रभावका कारण नेपालमा वर्षा भएको र यसले विभिन्न राजमार्ग अवरुद्ध भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार र शुक्रबारका लागि विद्यालय बन्द गराउन निर्देशन दिएको छ। अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको छ। केही राजमार्गहरूमा राति सवारी साधन चलाउन रोक लगाइएको छ भन्ने स्थानीय प्रशासनले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत १२ घण्टामा देशका धेरै स्थानमा वर्षा भएको छ र केही स्थानमा भारी वर्षा भएको छ। बङ्गालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा भएको मौसम विज्ञहरूले बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले जोखिम मुल्याङ्कन गरेर विद्यालयलाई दुई दिन बन्द गराउन निर्देशन दिएको बताए। “स्थानीय तहसँग समन्वय गरेर बिहीवार र शुक्रबार आवश्यकतानुसार विद्यालय बन्द गर्न भनिएको छ,” उनले भने।

वर्षाका कारण विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ। विपद प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार कतिपय राजमार्गमा एकतर्फी र कतिपयमा दुईतर्फी सवारी आवागमन बन्द गरिएको छ। पृथ्वी लोकमार्ग अन्तर्गत धादिङ/बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा पहिरो गएपछि र सोही गाउँपालिकाको ज्यामिरेघाटमा भएको पहिरोका कारण एक तर्फ सवारी आवागमन चलिरहेको छ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढीको पूर्वानुमान अवधि विस्तार गरेको जनाएको छ। केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईले बुधबारदेखि केही मुख्य नदीहरूको बाढी पूर्वानुमान अवधि तीन दिनदेखि पाँच दिनसम्म बढाईएको बताएका छन्। “वर्षा जारी रहेकाले मानिसहरूले अझ बढी सुरक्षित र सावधान रहुन् भनी यो गरिएको हो,” भट्टराईले भने।