नेपाली महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ बाट सम्मान

१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ मूल्य बराबरको क्रिकेट सामग्री प्रदान गरी सम्मान गरिएको छ। नेपाली महिला क्रिकेटमा पुर्याएको योगदान, निरन्तर अभ्यास र उत्कृष्ट प्रदर्शनको कदर स्वरूप मनीषालाई क्रिकेट किट प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता निर्देशक राज क्षेत्रीले मनीषालाई क्रिकेट सामग्री हस्तान्तरण गर्दै उत्कृष्ट खेलाडीहरूको सम्मान र प्रोत्साहन गर्नु नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
यसै अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर तथा प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले खेलाडीको मेहनत र संघर्षलाई सम्मान गर्नुले आगामी पुस्तालाई पनि प्रेरणा मिल्ने बताएका छन्। उनले स्थानीय स्तरका प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर दिँदै नेपाली क्रिकेटलाई अझ सशक्त बनाउन सहयोग पुग्ने बताए। सम्मान पाएकोमा मनीषाले आफूमाथि गरिएको कदरले थप उत्साह र प्रेरणा दिएको बताउँदै ६० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नु आफ्नो खेल जीवनको महत्वपूर्ण क्षण भएको उल्लेख गरिन्। उनले आगामी दिनमा नेपाली महिला क्रिकेटका लागि अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ आगामी अक्टोबर १३ मा अर्घाखाँचीमा आयोजना हुँदैछ। प्रतियोगिताको उद्देश्य स्थानीय क्रिकेट प्रवर्द्धन गर्नुका साथै प्रतिभाशाली खेलाडीहरुलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।






