Skip to main content

नेपाली टोली भियतनाममा एसिया ट्रेल मास्टर च्याम्पियनसिपको फाइनल खेल्न प्रस्थान

१३ असोज, काठमाडौं । एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिपको फाइनल खेल्न १० सदस्यीय नेपाली टोली भियतनाम प्रस्थान गरेको छ । अक्टोबर ३ मा भियतनामको उत्तरपश्चिमी क्षेत्र मु काङ चाईमा हुने फाइनल खेलमा नेपालका १० जना ट्रेल धावकले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको ७५ किलोमिटर दूरीको दौडमा लगभग ३ हजार ८ सय मिटरको उचाइ वृद्धि पार गर्नु पर्नेछ । दौड स्थानीय समय अनुसार बिहान ५ बजे सुरु हुनेछ । प्रतियोगिताको मार्गमा मु काङ चाईको पहाडी भूगोलका साथै प्राविधिक चुनौतीपूर्ण जङ्गल क्षेत्र पनि समावेश गरिएको छ । नेपालले सन् २०२४ मा एटीएमको टिम च्याम्पियनसिप उपाधि जितेको थियो । गत सिजनको ढिला भएको फाइनल सन् २०२६ फेब्रुअरी २८ मा हङकङमा भएको थियो, जसमा जापानले उपाधि जितेको थियो । यस पटक नेपाल टिम उपाधि पुनः जित्ने लक्ष्य राखेको छ । व्यक्तिगत रूपमा पनि नेपालले एटीएममा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । प्रिया राईले सन् २०२४ र हङकङमा भएको १०औं सिजनको फाइनलमा लगातार महिला उपाधि जितिसकेकी छन् । यो पटकको नेपाली टोलीमा प्रिया राई, गोपाल तामाङ, कल्पना बुढा, सुनसरी रोकाया, होमलाल श्रेष्ठ, विशाल राई, राज्यलक्ष्मी रावल, धिरबहादुर बुढा, पञ्चराम बुढा र आङ फुर्बा श्रेष्ठ रहेका छन् । टोली व्यवस्थापन लक्ष्मीप्रसाद मिश्र (आशिष) ले गर्नेछन् । टोलीका केही खेलाडीहरूले नेपालमा आयोजना भएका एटीएम छनोट प्रतियोगिताबाट च्याम्पियनसिपमा स्थान बनाएका हुन् । यस सिजन नेपालमा काठमाडौं उपत्यकामा मञ्जुश्री ट्रेल रेस, कर्णालीमा जुम्ला रारा अल्ट्रा म्याराथन र पोखरामा फिसटेल १०० अल्ट्रामराथनमार्फत छनोटको अवसर प्रदान गरिएको थियो । मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि १९ सम्म आयोजना भएको थियो, जसमा १०० माइल र ५० किलोमिटरका एटीएम छनोट दौडहरू समावेश थिए । जुम्ला रारा अल्ट्रा म्याराथन मे ९ मा र फिसटेल १०० अल्ट्रा मे १६ देखि १७ सम्म सम्पन्न भएको थियो । फिसटेल अल्ट्रा १०० र ५० किलोमिटरको छनोट दौडहरु राखिएको थियो । नेपालमा एटीएम छनोट प्रतियोगिताको दायरा आगामी सिजनमा अझ विस्तार हुँदैछ । पोखरा ट्रेल रेस सिरिजअन्तर्गतको पोखरा अल्ट्रा डिसेम्बर ५ र ६ मा आयोजना हुँदैछ । यो प्रतियोगिता आगामी च्याम्पियनसिप सिजनका लागि नेपालमा हुने चौथो एटीएम छनोट प्रतियोगिता हुनेछ । नेपालमा छनोट प्रतियोगिताको संख्या बढेसँगै नेपाली धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने थप अवसर मिलिरहेको छ र एसियाली ट्रेल रनिङमा नेपालको सहभागिता पनि विस्तार भएको छ । नेपाली टोलीले अन्तर्राष्ट्रिय सहभागिताका लागि सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेको छ। नेपाल रन यूके, टी८ हङकङ, एक्सटेरेरा नेपाल एन्ड फ्रेन्ड्ससँगै मञ्जुश्री ट्रेल रेस, जुम्ला रारा अल्ट्रा म्याराथन, पोखरा ट्रेल सिरिज/पोखरा अल्ट्रा र फिसटेल अल्ट्राका आयोजक तथा सहयोगीहरुलाई टोलीले धन्यवाद दिएको छ । साथै, खेलाडीहरूको सहभागिताका लागि आवश्यक स्वीकृति पत्रको व्यवस्थापन र युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरेकोमा नेपाल एडभेन्चर स्पोर्ट्स फेडेरेसनलाई पनि टोलीले धन्यवाद दिएको छ । च्याम्पियनसिपको फाइनल नजिकिदै गर्दा नेपाली टोली मु काङ चाईको ७५ किलोमिटर चुनौतीमा केन्द्रित हुनेछ । नेपाली धावकले व्यक्तिगत उपाधि र राष्ट्रिय टिमको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।