Skip to main content

विश्व सम्पत्तिको आधा भाग १.५ प्रतिशत धनीहरूको हातमा, अमेरिका र चीनमा बढी केन्द्रित

१४ असोज, काठमाडौं । विश्वभरि व्यक्तिगत सम्पत्ति निरन्तर बढ्दै गएको छ, तर धनी र गरिबबीचको खाडल झनै गहिरिँदै गएको छ। स्विस बैंक यूबीएसले सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ अनुसार विश्वको कुल व्यक्तिगत सम्पत्तिको झन्डै आधा भाग (४८.४ प्रतिशत) मात्र १.५ प्रतिशत धनाढ्यहरूको हातमा केन्द्रित छ। रिपोर्टअनुसार १० लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका ५ करोड ८० लाख वयस्कहरूले २५०.५९ ट्रिलियन डलरको सम्पत्ति नियन्त्रणमा राखेका छन्। यसको ठीक विपरीत, विश्वका ४२.१ प्रतिशत वयस्क (करिव १ अर्ब ६२ करोड मानिस) सँग १० हजार डलरभन्दा कम खुद सम्पत्ति छ, जसले समग्र सम्पत्तिको जम्मा ०.६ प्रतिशत (३.२२ ट्रिलियन डलर) मात्र हिस्सा ओगटेको छ। यसले नेपालजस्ता अतिकम विकसित र विकासशील देशका बहुसंख्यक नागरिकहरू अझै पनि सम्पत्ति पिरामिडको सबैभन्दा तल्लो तहमा संघर्ष गरिरहेका छन् भन्ने वास्तविकता देखाउँछ।
छिमेकी भारतमा डलर-करोडपतिहरू यूबीएसको यस वर्षको प्रतिवेदनमा समावेश ५६ प्रमुख बजार (अर्थतन्त्र) मध्ये शीर्ष स्थानमा छन्, जहाँ विश्वको कुल सम्पत्तिको ९२ प्रतिशतभन्दा बढी हिस्सा ओगटिएको छ। ती ५६ बजारमध्येको सूचीमा नेपाल समावेश छैन। तर दक्षिण एसियामा समेटिएको एकमात्र राष्ट्र भारतमा डलर-करोडपतिहरुको संख्या ९ लाख ४४ हजार पुगेको छ। ट्र्याक गरिएका ती ५६ बजारमा जम्मा डलर-करोडपतिहरुको संख्या करिब ५ करोड ७५ लाख छ। सन् २०२५ मा मात्र विश्वभर झन्डै १० लाख नयाँ डलर-करोडपति थपिएका छन्, जसको अर्थ प्रत्येक दिन औसतमा २,६८० नयाँ डलर-करोडपति बन्ने गरेका छन्।
दुई महाशक्तिहरूमा सम्पत्तिको केन्द्रितीकरण रिपोर्टअनुसार विश्लेषण गरिएका देशहरूमा अमेरिका र ग्रेटर चाइना (चीन, हङकङ र ताइवान सहित) सँग मात्र विश्वको आधाभन्दा बढी व्यक्तिगत सम्पत्ति रहेको छ। कुल सम्पत्तिमध्ये अमेरिकाले ३५.७ प्रतिशत हिस्सा लिएको छ भने ग्रेटर चाइनाले १८.५ प्रतिशत हिस्सा ओगटेको छ। त्यस्तै, पश्चिमी युरोपले २१.९ प्रतिशत सम्पत्ति समेटेको छ। प्रति वयस्क औसत सम्पत्तिका आधारमा स्विट्जरल्यान्ड ९ लाख १० हजार ३८२ डलरसहित विश्वमै पहिलो स्थानमा छ भने अमेरिका ६ लाख ९६ हजार २७७ डलरसहित दोस्रो स्थानमा छ।
उदीयमान बजारहरूको विश्वव्यापी सम्पत्तिको हिस्सा २६.२ प्रतिशत रहेको छ, जुन सन् २०२२ को २८.८ प्रतिशतको तुलनामा कम हो। सम्पत्ति वृद्धिभए पनि वितरणमा ठूलो अन्तर वर्तामान छ। यूबीएसका अनुसार २०२५ मा अध्ययन गरिएको बजारहरूको कुल व्यक्तिगत सम्पत्ति १०.८ प्रतिशतले वृद्धि भएको थियो। साथै विभिन्न सम्पत्ति समूहहरूबीचको अन्तर अझ स्पष्ट देखिन्छ। रिपोर्टअनुसार १० हजार डलरभन्दा कम सम्पत्ति भएका १.६२ अर्ब वयस्कसँग ३.२२ ट्रिलियन डलर, १० हजारदेखि १ लाख डलरबीचको सम्पत्ति भएका १.५८ अर्ब वयस्कसँग ६३.१६ ट्रिलियन डलर, १ लाखदेखि १० लाख डलरबीचका ५८८ मिलियन वयस्कसँग २००.७२ ट्रिलियन डलर, र सबैभन्दा माथिल्लो तहका ५८ मिलियन वयस्कसँग २५०.५९ ट्रिलियन डलर सम्पत्ति छ।
वित्तीय सम्पत्ति र घरजग्गाको संरचना हेर्दा देशअनुसार वित्तीय सम्पत्तिको हिस्सा फरक देखिन्छ। स्विडेनमा कुल व्यक्तिगत सम्पत्तिमध्ये ८३.६ प्रतिशत, ताइवानमा ८०.८ प्रतिशत, र अमेरिकामा करिब ७९ प्रतिशत वित्तीय सम्पत्ति रहेको यूबीएसले जनाएको छ। डलर-करोडपति हुनु भनेको बैंक खातामा १० लाख डलर नगद हुनु होइन। यूबीएसका अनुसार, १ देखि ५ मिलियन डलर सम्पत्ति भएका सामान्य डलर-करोडपतिहरूको लागि आफ्नो बसोबासको घर सबैभन्दा ठूलो सम्पत्ति हो। घरजग्गाको मूल्य वृद्धि हुँदा आम्दानी वा हातमा रहेको नगद नबढे पनि कुल सम्पत्ति बढेर व्यक्ति डलर-करोडपति बन्न सक्छ, तर घर बिक्री गरेर नगदमा परिणत भएपछि मात्र त्यो सम्पत्तिले तत्काल प्रयोगयोग्य तरलता पाउँछ। यूबीएसले तरल सम्पत्ति भन्नाले सामान्यतः नगद, बैंकमा रहेको रकम, स्वैच्छिक पेन्सन बचत, सामूहिक लगानी योजना र सेयरजस्ता वित्तीय साधनमा गरिएको प्रत्यक्ष लगानीलाई जनाउँछ। अनिवार्य पेन्सन बचत र घरजग्गालाई तरल सम्पत्तिमा समावेश गरिएको छैन। यसले विश्वमा सम्पत्ति बढे पनि वितरकीकरण तथा स्वरूपमा ठूलो अन्तर छ भन्ने देखाएको छ।