नेतन्याहुको यूएई भ्रमणपछि इरानको चेतावनी – क्षेत्रीय अस्थिरता निम्त्याउने क्रियाकलापहरू रोक्नुपर्ने

१४ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणपछि इरानले मध्यपूर्वका देशहरूलाई क्षेत्रीय अस्थिरता निम्त्याउने गतिविधिहरूबाट बच्न चेतावनी दिएको छ। इरानको विदेश मन्त्रालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा नेतन्याहुको यूएई भ्रमणप्रति आपत्ति व्यक्त गर्दै क्षेत्रीय सुरक्षाको जिम्मेवारी सबै देशहरूको साझा दायित्व भएको उल्लेख गरेको छ। ‘यस क्षेत्रको सुरक्षा सबै देशहरूको साझा जिम्मेवारी हो। असुरक्षित शक्ति तथा तत्वहरूलाई यस क्षेत्रमा प्रवेश गर्न बाटो खोल्ने कुनै पनि कार्यले अन्ततः यस क्षेत्रका सबै देशहरूको हितमा हानिकारक प्रभाव पार्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
‘यसले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता बढाउनेछ। त्यसैले, यस क्षेत्रका सरकारहरूले शान्ति र स्थायित्व कायम गर्न आफ्नो जिम्मेवारी ठीकसँग बुझ्नुपर्ने अपेक्षा गरिन्छ,’ विज्ञप्तिमा थपिएको छ। इरानले यस्ता गतिविधिहरूले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता फैलाउने दाबी गरेको छ र क्षेत्रीय सरकारहरूलाई शान्ति र स्थायित्व कायम गर्न आफ्नो जिम्मेवारी बुझ्न आवश्यक रहेको बताएको छ। इरानी विदेश मन्त्रालयले अन्य देशका सरकारहरूलाई इजरायलको ‘हानिकारक उपस्थिति’ विस्तारका लागि बाटो नखोल्न र आफ्नो भूभागलाई अन्य देशविरुद्ध हुने गतिविधिको मंच बन्न नदिन आग्रह गरेको छ। यसअघि नेतन्याहु आइतबार यूएईको भ्रमणमा गएका थिए जहाँ उनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेटवार्ता गरेका थिए। तर, इजरायली प्रधानमन्त्री कार्यालयले उक्त भ्रमणको पुष्टि दुई दिनपछि मात्र गरेको थियो।






