Skip to main content

जम्मु-कश्मीरमा सीआईएसएफका जवानद्वारा सहकर्मीमाथि गोली चल्दा ४ जनाको मृत्यु

१४ असोज, काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमाण्डेन्टसहित चार जनाको मृत्यु भएको छ । अधिकारीहरूको भनाइअनुसार मंगलबार साँझ करिब साढे सात बजे बसोहली नजिकै माश्का क्षेत्रमा घटना भएको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सीआईएसएफका हेड कन्स्टेबल अभिदेश कुमार र उनका केही सहकर्मीहरूबीच विवाद भएको थियो । त्यसपछि उनले आफ्नो राइफलबाट ती सहकर्मीमाथि गोली चलाएको आरोप लाग्दैछ ।

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो । उपचारका क्रममा चारै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये असिस्टेन्ट कमाण्डेन्ट अंकित कुमार पाण्डे, सब-इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन् । घटनापछि अन्य सीआईएसएफ जवानहरूले हेड कन्स्टेबल अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए र पछि प्रहरीले उनलाई पक्राउ गरेको छ । घटनामा प्रयोग गरिएको राइफल पनि बरामद गरिएको अधिकारीहरूले जनाएका छन् ।

घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले गोली चलाउनुको वास्तविक कारण र परिस्थितिबारे थप अनुसन्धान गरिरहेको अधिकारीहरूले बताए।