
१५ असोज, काठमाडौं । पाकिस्तानले एशियन गेम्स पुरुष क्रिकेट फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशमाथि जित हासिल गर्दै पाकिस्तानले कम्तीमा रजत पदक निश्चित गरेको छ । वर्षाका कारण म्याच समयमै सुरु नहुँदा खेल १३ ओभरमा सीमित गरिएको थियो । पाकिस्तानले बंगलादेशद्वारा निर्धारण गरिएको ११२ रनको लक्ष्य ११.३ ओभरमा पूरा गर्यो । अब्दुल समद ३० रनमा नटआउट रहे भने हसन नवाजले २७ रनमा नटआउट योगदान दिए । बंगलादेशका महेदी हसन, नसुम अहमद, मुस्तफिजुर रहमान र रिशाद होसेनले १-१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाउँदै १११ रन बनायो । तोहिद रिदोएको जोडेको सर्वाधिक ४२ रन विशेष उल्लेखनीय रह्यो । सेफ हसनले १९ र मोसदेक हुसेनले ११ रन बनाए । पाकिस्तानले अब फाइनलमा भारत र श्रीलंकाबीचको विजेतासँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ भने विजेता बाहेकको टोलीसँग बंगलादेश कांस्य पदकका लागि भिड्नेछ ।






