आईसीसीले समय खेर फाल्ने खेलाडीलाई पाँच रन पेनाल्टी दिने नयाँ नियम लागू गर्यो

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलको गतिलाई तिब्र बनाउन र केही नयाँ नियमहरू लागू गरेको छ । अक्टोबर १ वा त्यसपछि सुरु हुने सबै अन्तर्राष्ट्रिय श्रृंखलाहरूमा यी नयाँ नियमहरू लागू हुनेछन् । नयाँ नियमअनुसार पुरुष क्रिकेटमा ब्याटरले निर्धारित समयमा बल खेल्न तयार नहुनु पहिलो पटकमा चेतावनी दिइनेछ, दोस्रो पटक अन्तिम चेतावनी दिइनेछ भने तेस्रो र त्यसपछिका प्रत्येक गल्तीमा विपक्षी टोलीलाई पाँच रन पेनाल्टी दिइनेछ। बारम्बार समय खेर फाल्ने व्यवहारलाई सम्बन्धित आचारसंहिताअनुसार थप कारबाही गरिनसक्ने व्यवस्था गरिएको छ।
महिला क्रिकेटमा खेलिने बलको आकार र तौलमा पनि नयाँ सीमा निर्धारण गरिएको छ। अब पुरुष, महिला र जुनियर क्रिकेटका लागि फरक–फरक आकार र तौल भएका बलका मापदण्ड लागू गरिनेछन्। मैदानमा बलिङ टोलीले बल स्टम्पतर्फ पठाएर रन रोक्ने वा रनआउट प्रयासलाई मात्र ‘ओभरथ्रो’ मानिनेछ। बल रोक्ने वा अर्को फिल्डरलाई पास गर्ने क्रममा भएको मिसफिल्डलाई ओभरथ्रो मानिने छैन भनी नियम स्पष्ट पारिएको छ।
त्यसैगरी, बल ‘अन्तिम रूपमा स्थिर’ भएको विषयमा अम्पायरलाई थप निर्णय अधिकार दिइएको छ। अब बल अन्तिम रूपमा स्थिर भएको मान्न बल अनिवार्य रूपमा बलर वा विकेटकिपरको हातमा हुनुपर्ने छैन। रनआउट वा स्टम्पिङको क्रममा फिल्डरले बल समातेको मान्न बलमाथि पूर्ण नियन्त्रण हुनुपर्नेछ। स्टम्प भाँचिँदा हातले बल छुने मात्र अवस्थामा बल समातेको मानिने छैन।
आईसीसी पुरुष क्रिकेट समितिका अध्यक्ष सौरभ गांगुलीले नयाँ परिवर्तनले खेलको आधुनिक आवश्यकतालाई सम्बोधन गर्दै नियमहरूको स्पष्टता र निरन्तरता कायम राख्ने बताए। नयाँ नियमहरू अक्टोबर १ वा त्यसपछिका अन्तर्राष्ट्रीय श्रृंखलाहरूमा लागू हुनेछन् भने यसअघि सुरु भइसकेका श्रृंखलाहरू पुराना नियमअनुसार सञ्चालन गरिनेछन्।






