
१६ असोज, बुटवल। विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६, २५–१९ को नतिजाबाट जीत हासिल गरेको थियो।
शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्पोटिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। एपिएफले २१–२५, २५–१८, २५–१६, १७–२५, १५–१२ को नतिजामा जीत हासिल गरेको थियो। त्यस्तै अर्को सेमिफाइनल खेलमा सभापोखरीले खैरा भलिबल क्लब पंजाबलाई ३–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। सभापोखरीले खैरा क्लबलाई २५–२०, २५–१६, २३–२५, २५–१५ को स्कोरमा हराएको थियो।
पुलिस र सभापोखरीबीच शनिबार उपाधि भिडन्त हुनेछ। सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा तीन विदेशी र नेपालका चार गरी जम्मा सात टोलीले भाग लिएका थिए। प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरूप ७५ हजार रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, व्यक्तिगत विधामा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।






