

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आगामी दशकलाई सामाजिक रूपान्तरणको दशकका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकृति र विभेद अन्त्यलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने बताए।
शर्माले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पद र जिम्मेवारी प्राप्त गरेपछि औपचारिक कार्यक्रममा मात्रै सीमित नभई परिणाममुखी काम गर्न आग्रह गरे। पार्टी केन्द्रको योजना र सभापतिको कार्ययोजनाअनुसार काम गर्दै नागरिकले अनुभव गर्न सक्ने परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनको मुद्दामा सरकारलाई साथ दिने वरिष्ठ उपसभापति शर्माले जलवायु परिवर्तनको असर न्यूनीकरण र हिमाल संरक्षणका विषयमा सरकारसँग सहकार्य गर्न कांग्रेस तयार रहेको बताए। आगामी कोप–३१ सम्मेलनमा नेपालको प्रस्तुति प्रभावकारी र प्रमाणमा आधारित हुनुपर्नेमा उनले जोड दिए।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिम सामना गर्नु राष्ट्रिय जिम्मेवारी भएको उल्लेख गर्दै उनले यस विषयमा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताए। शर्माले विदेशमा रहेका नेपाली नागरिकको भावना र सरोकारलाई पनि राष्ट्रिय नीतिमा समेट्नुपर्ने धारणा राखे। त्यस्तै, सामाजिक सञ्जालमा गलत सूचना फैलिएको अवस्थामा विधिसम्मत प्रक्रियाबाट खण्डन गर्नुपर्ने र सामाजिक सञ्जाललाई समाज रूपान्तरणको सकारात्मक माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उनले बताए। पार्टीगत स्वार्थभन्दा राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा शर्माले जोड दिए।

सम्बन्धित खबर











