

हिमाली क्षेत्रमा बाढी: नेपाल र भारतको उत्तराखण्डमा तीव्र निर्माणका कारण ३ लाख मानिस जोखिममा


एउटा नयाँ अध्ययनले हिमालय क्षेत्रका केही भागहरूमा कम्तीमा तीन लाख मानिसहरू सम्भावित प्राकृतिक विपद्को “बाटो”मा बसिरहेको औँल्याएको छ। सन् २०१६ र २०२३ को बीचमा उत्तरी नेपाल, दक्षिणपूर्वी तिब्बतका केही भागहरू र भारतको उत्तराखण्डको एउटा भागमा भवन निर्माणको क्रम लगभग ४५ प्रतिशतले बढेको छ। ती उच्च जोखिमयुक्त क्षेत्रहरू हुन्। ‘साइन्टिफिक रिपोर्ट्स’ जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार विशेष गरी हिमतालबाट हुने बाढीको जोखिममा रहेका क्षेत्रहरूमा सो अवधिमा निर्माण कार्य लगभग ७८ प्रतिशतले वृद्धि भएको छ।
यस अध्ययनमा संलग्न वैज्ञानिकहरूको टोलीले जोखिममा रहेका मानिसहरूको वास्तविक सङ्ख्या निकै बढी हुन सक्ने बताएको छ किनभने अनुसन्धानकर्ताहरूले समान जोखिममा रहेका वरपरका सबै क्षेत्रलाई नसमेटेर एउटा विशेष क्षेत्रको मात्र विश्लेषण गरेका थिए। यो अध्ययन नेपालमा १,४०० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै हजारौँ मानिसहरूलाई बेपत्ता बनाएको गत भदौमा भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीभन्दा पहिले गरिएको थियो। हालसालै थप साना मिल्दाजुल्दा घटनाहरू पनि भएका छन्। नेपालमै असोज महिनामा बुढीगण्डकी नदीमा आएको बाढीले २०० घरहरूमा क्षति पुर्यायो, पाँच वटा पुलहरू बगायो र पाँच जना बेपत्ता भएका छन्।
नेपाल, ब्रिटेन र भारतका नौ जना अनुसन्धानकर्ताहरूले हिमाली नदीहरूका ५० किलोमिटर तल्लोतटीय क्षेत्रसम्म र करिब १,३६० वटा हिमतालको अध्ययन गरेका थिए। उनीहरूले ती क्षेत्रहरूमा पर्यटन सुविधाको विस्तार, पूर्वाधार विकास र घर निर्माणसहित उल्लेखनीय विकास भएको पत्ता लगाएका छन्। नेपालको पोखरा त्यसको प्रत्यक्ष साक्षी हो। हिमालको फेदमा अवस्थित पोखरा एउटा प्रमुख पर्यटकीय केन्द्र हो, जहाँ विगत ३० वर्षमा पर्यटकहरूको बढ्दो आगमनलाई मध्यनजर गरेर पूर्वाधार निर्माण उल्लेखनीय रूपमा बढेको छ। मेयर धनराज आचार्य अन्नपूर्ण पर्वत शृङ्खलाबाट उत्पत्ति भएर पोखरा सहरको बीचबाट बग्ने सेतीगण्डकी नदीका कारण उत्पन्न खतराहरूसँग जुध्नुलाई एउटा ठूलो चुनौती मान्छन्।

सम्बन्धित खबर








