

न्यायपालिका विवादमा फुलकोर्टको बैठक, बारको निष्पक्ष अनुसन्धानको माग


प्रधानन्यायाधीश र केही न्यायाधीशहरू र अहिले थुनामा रहेका एक बिचौलियाबीचको संवादको विवरण सार्वजनिक भएको भोलिपल्ट सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको फुलकोर्ट बसेको छ। सर्वोच्च अदालतका प्रवक्ता अशोकराज क्षेत्रीका अनुसार फुलकोर्ट ‘समसामयिक विषयमा’ छलफल गर्न बसेको हो। “आज फुलकोर्ट बसेको हो र समसामयिक विषयमा छलफल भएको हो। यसको निष्कर्ष निस्किएर आधिकारिक धारणा आयो भने जानकारी गराउँला,” प्रवक्ता क्षेत्रीले भने। उक्त बैठकका कारण शुक्रबार इजलास केही अबेर बसेको उनले बताए।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र ‘बिचौलिया’ भनिएका इनम सापकोटासँग जोडेर विभिन्न समाचारहरू प्रकाशित भइरहेको छ। ती समाचारमा लगाइएका आरोप अस्वीकार गर्दै प्रधानन्यायाधीश र न्यायाधीशहरूले छुट्टाछुट्टै विज्ञप्तिहरू जारी गरिसकेका छन्। इनम सापकोटालाई प्रहरीले असोज १४ गते विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ। बिहीवार सञ्चारमाध्यममा सार्वजनिक भएका ह्वाट्सएप कुराकानीमा सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको नाम लिँदै एक आरोपितलाई थुनामै राख्न न्यायाधीश फुयाललाई आग्रह गरेको बताइएको छ।
न्यायाधीश फुयालले इनम सापकोटासँगको विवादास्पद संवाद र भेटघाट बाहिरिएपछि बिहीवार स्पष्टिकरण दिँदै एउटा विज्ञप्ति जारी गरेका छन्। न्यायाधीशको आचारसंहिता २०७४ अनुसार न्यायाधीशले “न्यायिक कार्य गर्दा कानुनको सही प्रयोग गरी प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाव, भनसुन, धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई न्यायिक कार्य स्वतन्त्रतापूर्वक गर्नुपर्दछ।” बारका अध्यक्ष विजयप्रसाद मिश्रले भने, “यसलाई बिचौलिया उन्मुलनको प्रस्थान बिन्दुको रूपमा मानेर संयुक्त संयन्त्र बनाएर न्यायपालिकामा बिचौलिया देखिने बित्तिक्कै त्यसलाई कारबाही गर्ने गरेर भाइरसरहित न्यायपालिका बनाउनुपर्छ।”

सम्बन्धित खबर








