

इजरेलको निर्वाचन गतिरोध समाधानका लागि चार सम्भावित परिदृश्य


इजरेल यतिबेला राजनीतिक गतिरोधमा फसेको देखिएको छ। मङ्गलवार सम्पन्न निर्वाचनको अन्तिम नतिजा आइसक्दा पनि वर्तमान प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजनकोट नेतृत्वको समूहमध्ये कसैले पनि बहुमत हासिल गर्ने अवस्था देखिएन। सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरूमध्ये कुनै एकले निर्वाचन अभियानका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धताबाट पछि हट्नुपर्ने देखिन्छ। यस्तो अवस्थामा राजनीतिक सहमति जुट्न नसके पुनः निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्छ। इजरेलमा यतिबेला देखिएको राजनीतिक गतिरोध अन्त्य हुन सक्ने चार सम्भावित परिदृश्यबारे यहाँ चर्चा गरिएको छ।
नेतन्याहुको नेतृत्वमा राष्ट्रिय एकताको सरकार गठनको सम्भावना छ। के नेतन्याहुले गादी आइजनकोटलाई राष्ट्रिय एकताको सरकारमा सहभागी हुनका निम्ति मनाउन सक्लान्? त्यसो गर्दा आइजनकोटले आफ्नो चुनावी अभियानको प्रमुख एजेन्डा नै त्याग्नुपर्ने हुन्छ। उनले आफूलाई नेतन्याहुको एकमात्र विकल्पका रूपमा प्रस्तुत गर्दै उनलाई सत्ताबाट हटाउने नाराका साथ चुनावी अभियान चलाएका थिए। निर्वाचनको अघिल्लो रात आफ्नो चुनावी मुख्यालयमा आयोजित कार्यक्रममा उनले नेतन्याहुलाई लक्षित गर्दै भनेका थिए: “आजै राजनीतिक जीवनबाट सन्यास लिने घोषणा गर्नुहोस्।”
यदि नेतन्याहुले हालको गठबन्धनमा रहेका अति दक्षिणपन्थी तथा ‘अल्ट्रा-अर्थोडक्स’ दलहरूलाई बाहिर राखेर आइजनकोटको याशर पार्टीसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने प्रस्ताव गर्न सक्छन्। तर निर्वाचनको अघिल्लो रात लिकुड पार्टीको मुख्यालयमा नेतन्याहुले आफ्ना ‘वफादार साझेदारहरू’लाई धन्यवाद दिँदै ‘बलियो दक्षिणपन्थी सरकार’ गठनको आह्वान गरेका थिए। यसले वर्तमान गठबन्धनलाई निरन्तरता दिने सङ्केतको रूपमा अर्थ्याइएको छ।
अरब पार्टीसहितको आइजनकोट नेतृत्वको गठबन्धन सरकार गठनको अर्को सम्भावना पनि छ। यसले इजरेली राजनीतिमा उथलपुथलपूर्ण परिवर्तन ल्याउन सक्छ। सन् २०२१ मा पहिलोपटक एउटा स्वतन्त्र अरब पार्टी औपचारिक रूपमा गठबन्धनमा सहभागी भएको थियो। यद्यपि, विपक्षी गठबन्धनका लागि संसदीय बहुमत हासिल गर्ने यो नै एकमात्र विकल्प देखिएको छ।
यदि माथि उल्लिखित कुनै पनि विकल्पमा सहमति कायम हुन सकेन भने नयाँ निर्वाचनको सम्भावना पनि छ। यसले नेतन्याहुको अप्रत्यक्ष जितका रूपमा व्याख्या गर्न सकिन्छ। नयाँ निर्वाचन नहुँदासम्म उनी कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा कायम रहनेछन्।

सम्बन्धित खबर








