Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अन्य ग्रहका सूक्ष्मजीवले मानव स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छन्?

Advertisement800×200-1

नासाको ‘पर्सिभिअरन्स रोभर’ले मङ्गल ग्रहमा चट्टानका नमुनाहरू सङ्कलन र विश्लेषण गरिरहेको छ। खगोलशास्त्रीहरूले पृथ्वीको जस्तै वातावरण हुन सक्ने ग्रहहरूको खोजी गर्दैछन्। यसका साथै, आकाशगङ्गाभित्र टाढा रहेका ग्रहहरूबाट आउने रेडिओ सङ्केतहरू पनि सुन्ने प्रयास भइरहेको छ। यी जटिल अभियानहरूको साझा उद्देश्य भनेको “पृथ्वीभन्दा बाहिर जीवको अस्तित्वमा थियो कि थिएन वा रहन सक्छ कि सक्दैन” भन्ने पत्ता लगाउनु हो। मानवजाति दशकौँदेखि पृथ्वीबाहिर जीवन छ कि छैन भन्ने खोजीमा छ। यदि कुनै दिन ‘एलिअन’ अर्थात् पृथ्वीबाहिरका जीवहरू फेला परे भने, ती चलचित्रमा देखाइने हरिया रङका ‘एलिअन’जस्ता नहुन सक्छन्। खगोलजीववैज्ञानिक डा मिशेल मुसिलोभाले भनिन्, “तिनीहरू सम्भवतः सूक्ष्मजीव हुन सक्छन्।” उनले नासा र युरोपेली अन्तरिक्ष निकायसँग मिलेर अनुसन्धान गरेकी छन्।

यदि अन्तरिक्षमा सूक्ष्मजीवहरू फेला परे भने, के तिनले हामीलाई बिरामी पार्न सक्छन्? अथवा हामीले अन्तरिक्षको यात्रा गर्दा के हामीले आफूसँगै पृथ्वीबाट सूक्ष्मजीवहरू लैजाँदै त हुँदैनौ? मुसिलोभाले बीबीसीको पड्कास्ट ‘क्राउडसाइन्स’सँग कुरा गर्दै भनिन्, “ब्याक्टेरियाजस्ता साधारण जीव नै अन्तरिक्षको प्रतिकूल वातावरणमा बाँच्न सक्ने सबैभन्दा बढी सम्भावना भएका जीव हुन्।” उनले भनेका अनुसार पृथ्वीमा पाइने केही ब्याक्टेरिया अन्तरिक्षमा लामो समयसम्म जीवित रहन सक्छन् किनभने तिनमा ‘स्पोर’ बन्ने क्षमता हुन्छ। यसले तिनलाई विकिरणको असर सहन गर्न मद्दत गर्दछ।

अन्तरिक्षमा सूक्ष्मजीव फेला परे भने पृथ्वीमा ल्याइने नमुनाले हानि पुर्याउने जोखिम “अत्यन्त न्यून” रहेको बताइएको छ। तर मुसिलोभाका अनुसार अन्तरिक्ष निकायहरूले सम्भावित जोखिमलाई गम्भीर रूपमा लिने गरेका छन्। उदाहरणका लागि, स्थगित गरिएको नासा र इसाको संयुक्त कार्यक्रम ‘मार्स स्याम्पल रिटर्न’मा जोखिम देखा परेमा त्यसको सामना गर्नका लागि विशेष आकस्मिक कार्य योजना तयार गरिएको थियो। यसका लागि विशेष प्रयोगशाला बनाउने योजना बनाइएको थियो।

अमेरिकास्थित पिट्स्बर्ग विश्वविद्यालयकी सूक्ष्मजीववैज्ञानिक डा केट रुबिन्सका अनुसार, यदि सूक्ष्मजीवहरू अन्तरिक्षमा बाँच्न सक्छन् भने, हामीले आफूसँगै के कस्ता जीवाणुहरू लगिरहेका छौँ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ। सूक्ष्मजीवहरू तनावको अवस्थाप्रति संवेदनशील हुन्छन् र अन्तरिक्षयात्रा गर्दा तिनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। भविष्यमा चन्द्रमा, मङ्गल ग्रह वा अन्य गन्तव्यतर्फ हुने लामो यात्रामा यिनै अदृश्य सूक्ष्मजीवहरू मानव अभियानका चुनौतीहरूमध्ये एक बन्न सक्छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर