

भारतमा प्रमुख निर्वाचन आयुक्तको राजिनामा माग गर्दै विपक्षीहरूको विशाल र्याली


भारतका प्रमुख निर्वाचन आयुक्तको राजीनामा र मतदानमा सुधारको माग गर्दै दिल्लीमा विपक्षीहरूले निकालेको र्यालीमा दशौँ हजारले सहभागिता जनाएका छन्। ‘इन्डिया’ गठबन्धनले दिल्लीको रामलीला मैदानमा भइरहेको र्यालीमा १० लाख मानिसहरू जम्मा भएको दाबी गरेको छ। प्रमुख विपक्षी दल कंग्रेसले आयोजना गरेको र त्यसका नेता राहुल गान्धीले चेतावनी दिँदै भने, “देशलाई पुनः सही बाटोमा ल्याउने पहिलो कदम ज्ञानेश कुमारलाई हटाउनु हो। अमित शाह भनिरहनु भएको छ कि नरेन्द्र मोदी कतै गइरहनु भएको छैन। म भन्न चाहन्छु- न त तपाईँलाई, न त नरेन्द्र मोदीलाई नै कतै जान दिइने छ। ज्ञानेश कुमारपछि, हामी तपाईँका सामुन्ने उभिन आइपुग्ने छौँ। तपाईँहरूमाथि कानुनी कारबाही गरिनेछ।”
आफूहरूले सबैको निम्ति खुला र समावेश हुनसक्ने भारतको परिकल्पना गरेको उनले बताए। “यदि कुनै किसानले कडा परिश्रम गर्छ भने उसले आफ्ना सपनाहरू साकार पार्ने अवसर पाउनुपर्छ। यदि कुनै विद्यार्थीले १८ घण्टासम्म पढाइ गर्छ भने उसले त्यसको उचित प्रतिफल पाउनुपर्छ। हामी केही व्यक्तिको मात्र देश चाहँदैनौँ।” मतदाता नामावली सूचीको मस्यौदामा १३ करोड मानिसहरूको नाम हटाइएपछि त्यसको आलोचना भइरहेको छ। विपक्षीहरूले सत्तारुढ भारतीय जनता पार्टीलाई सघाउने बताइरहेका छन्। तर सरकार र निर्वाचन आयोगले मतदाता नामावलीमा देखिएको दोहोरोपन र अयोग्य मतदाताहरू हटाउन पुनरवलोकनको अभ्यास आवश्यक रहेको उल्लेख गरेका छन्।
प्रमुख विपक्षी दल कंग्रेसले आयोजना गरेको र त्यसका नेता राहुल गान्धीले नेतृत्व गरिरहेको उक्त प्रदर्शन रामलीला मैदानमा आयोजना गरिएको हो। भिडियो फुटेजहरूमा गान्धीसहित अरू विपक्षी नेताहरू एउटा जिपमा कार्यक्रम स्थलतर्फ जाँदै गरेको देख्न सकिन्छ। जेन जी नेतृत्वको दबाव समूह कक्रोच जनता पार्टीले पनि समर्थन व्यक्त गरेको छ तर त्यसका नेता उक्त विरोध कार्यक्रममा देखिएका छैनन्। निर्वाचन आयोगले सो निर्णयलाई मृत्यु भइसकेका वा आफ्नो ठेगानाबाट बसाइँ सरेका व्यक्तिहरूको नाम हटाएर मतदाता नामावलीलाई अद्यावधिक गर्ने उद्देश्यसहितको अभ्यास भएको बताइरहेको छ। तर विपक्षी दलहरूले उक्त अभ्यासले योग्य मतदातालाई हटाएर प्रधानमन्त्री मोदीको दललाई फाइदा पुर्याउने दाबी गर्दै आएका छन्। उनीहरूले प्रमुख निर्वाचन आयुक्त र बिजेपीमाथि ‘भोट चोरी’को आरोप लगाएका छन्। बीजेपी र भारतको निर्वाचन आयोग दुवैले उक्त आरोपको खण्डन गरेका छन्।

सम्बन्धित खबर








