

काठमाडाैं । मोरङस्थित रिजाल एन्ड कम्पनीका नाममा ६० रोपनी जग्गा छुट दर्ता गराउँदा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गर्दै मुद्दा पेस गरेको हो।
प्रतिवादी बनाइएकामा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री रिजाल र तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ छन्। तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेकी छोरी कमला घिमिरेलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, तत्कालीन सचिव छविराज पन्तसहित मन्त्रालय, भूमिसुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालयका तत्कालीन विभिन्न तहका कर्मचारीहरूलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले जग्गा छुट दर्ता प्रक्रियामा संलग्न पदाधिकारी तथा कर्मचारीसहित कुल ९७ जनाविरुद्ध मुद्दा अघि बढाएको हो। उनीहरूमाथि लगाइएको आरोपको अन्तिम निरूपण विशेष अदालतबाट हुन बाँकी छ।

सम्बन्धित खबर











