Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौंमा

Advertisement800×200-1

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन्। उनी एअर इन्डियाको विमानमार्फत नेपाल आएका हुन्। भारतले गत अक्टोबर १६ मा दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। सन् १९९३ ब्याचका भारतीय विदेश सेवाका अधिकारी दलेला नेपाल आउनुअघि भारतीय विदेश मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिए। उनले निवर्तमान राजदूत नवीन श्रीवास्तवको स्थान लिएका हुन्।

दलेलासँग नेपालसम्बन्धी विषयमा काम गरेको अनुभव छ। उनले भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखामा सन् २००६ देखि २००७ सम्म निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सहसचिवका रूपमा काम गरेका थिए। उक्त जिम्मेवारीमा रहँदा उनले नेपाल र भुटानसँगको सम्बन्ध हेरेका थिए। उनी यसअघि भुटानका लागि भारतका राजदूतसमेत रहिसकेका छन्। भुटानको जिम्मेवारीपछि भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिव बनेका दलेलासँग आर्थिक कूटनीति तथा विकास साझेदारीका क्षेत्रमा पनि काम गरेको अनुभव छ।

नेपाल र भारतबीच उच्चस्तरीय संवादको तयारी भइरहेका बेला दलेला काठमाडौं आएका हुन्। भारतीय विदेश सचिव विक्रम मिस्री पनि नोभेम्बर ४ मा नेपाल आउने कार्यक्रम रहेको छ। उनको भ्रमणलाई प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीसँग जोडिएको छ। प्रधानमन्त्रीको भ्रमणको मिति र औपचारिक कार्यतालिका भने सार्वजनिक हुन बाँकी छ। दलेलाको कार्यकालमा व्यापार, अन्तरदेशीय यातायात तथा पूर्वाधार, ऊर्जा र विकास साझेदारी दुई देशबीचका प्रमुख सहकार्यका विषय रहनेछन्। नेपालसम्बन्धी पूर्वअनुभव र आर्थिक कूटनीतिको पृष्ठभूमिका कारण द्विपक्षीय संवाद तथा सहकार्य अघि बढाउन उनको भूमिकालाई चासोका साथ हेरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर