Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे, चाडपर्वको तालिका सार्वजनिक

Advertisement800×200-1

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारअन्तर्गत मनाइने चाडपर्वको दिन र भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्केर बस्नुपर्ने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।

समितिको विज्ञप्तिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस परेको छ। सोही दिन यमदीप दान गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार अर्थात् काकबलि र धन्वन्तरि जयन्ती मनाइनेछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुरपूजा तथा लक्ष्मीपूजा गरिनेछ। सोही दिन दीपमालिका र सुखरात्रि पनि परेको समितिले जनाएको छ।

कात्तिक २३ गते सोमबार गाईपूजा मनाइनेछ। त्यसको भोलिपल्ट कात्तिक २४ गते मंगलबार गोवर्द्धनपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा परेको छ। सोही दिनदेखि नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ। तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ। समितिको विज्ञप्तिमा भाइटीकालाई किजापूजाका रूपमा समेत उल्लेख गरिएको छ। समितिका कार्यकारी निर्देशक तथा उपसचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भाइटीकाको निश्चित शुभसाइत तोकिएको छ भने अन्य चाडपर्वका लागि मनाउने दिन उल्लेख गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर