

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्ने निर्णयको औचित्य सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । कार्कीलाई हटाउन पार्टीले निर्देशन नदिएको र निर्णयबारे जानकारीसमेत नगराइएको उनको भनाइ छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा खटाउने र प्रहरी अतिरिक्त महानिरीक्षक मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीसँगको सल्लाहमा प्रहरी नेतृत्व हेरफेर गरिएको दाबी गरेका थिए । तर, नेपालखबरसँगको संक्षिप्त प्रतिक्रियामा रास्वपा प्रवक्ता खरेलले कुनै व्यक्तिलाई हटाउने वा नियुक्त गर्ने विषयमा पार्टीले सरकारलाई निर्देशन नदिएको बताएका हुन् । खरेलका अनुसार रास्वपाको सचिवालय बैठकले पत्रकार पक्राउ र न्युजरुममा भएको प्रहरी हस्तक्षेपमा संलग्न तथा आदेश दिने व्यक्तिमाथि कारबाही गर्न सरकारलाई भनेको थियो ।
त्यसलाई कुनै निश्चित व्यक्तिको जिम्मेवारी हेरफेर गर्न दिइएको निर्देशनका रूपमा बुझ्न नमिल्ने उनको भनाइ छ । कार्कीको जिम्मेवारी परिवर्तनलाई सरकारले कारबाहीका रूपमा व्याख्या नगरेकाले त्यसलाई पत्रकार पक्राउ प्रकरणसँग जोड्ने आधार सरकारले नै स्पष्ट गर्नुपर्ने उनले बताए । खरेलले पार्टीले सरकारअन्तर्गतका निकायमा कसलाई राख्ने वा हटाउने भनेर सूक्ष्म हस्तक्षेप नगर्ने पनि स्पष्ट पारे । कार्कीको जिम्मेवारी किन परिवर्तन गरिएको हो भन्नेबारे सरकारले विस्तृत रूपमा औचित्य पुष्टि गर्ने अपेक्षा रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर











