Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

‘एक सुकाको पनि लेनदेन भएको छैन’ : आधिकारिकता विवादमा गगनको प्रतिवाद

Advertisement800×200-1

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काममा संलग्न नरहेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफूमाथि बदनियतपूर्वक हल्ला फैलाइएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरे ।

हिरासतमा रहेका इनम सापकोटासँग जोडेर सार्वजनिक भएको भनिएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले त्यसको स्रोत र सन्दर्भबारे आफूलाई जानकारी नभएको बताए ।

‘त्यो अडियो कहाँ बोलेको ? कसले बोलेको ? किन बोलेको ? कहिले बोलेको ? थाहा छैन । बोलेको हो कि बोलाइएको ? यो पनि थाहा छैन,’ उनले भने ।

पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यस विषयमा पत्रकार सम्मेलनमार्फत धारणा राखिसकेको उल्लेख गर्दै थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताए । निष्पक्ष अनुसन्धानबाट वास्तविकता स्पष्ट हुने उनको भनाइ थियो ।

कांग्रेसको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी लडाइँमा कुनै अनुचित गतिविधि नभएको दाबी गर्दै उनले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन ।’

थापाले कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीका तल्लो तहका कार्यकर्ताले गरेको विद्रोहको संज्ञा दिए । भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र पनि परिवर्तन आवश्यक रहेको निष्कर्षका साथ आफूहरू अघि बढेको उनले बताए ।

विभिन्न दलका नेतासँगको भेटघाटलाई पक्राउको हल्ला वा अडियो प्रकरणसँग जोड्न नहुनेमा पनि उनले जोड दिए । कांग्रेस सभापतिको जिम्मेवारीअनुसार मधेश प्रदेश सरकारको विश्वासको मतलगायत राजनीतिक विषयमा संवाद गरेको उनको भनाइ थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगका भेटघाट राजनीतिक संवादकै सिलसिला भएको उनले स्पष्ट पारे ।

‘म तर्सिने जिनिस नै होइन, तर्सिनै परेको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटीजहरू छन् ।’

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले विपत्तिबाट घरबारविहीन नागरिकको पुनःस्थापना, सुकुम्बासी समस्या समाधान, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । अर्थतन्त्रका समस्या सम्बोधनमा सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

सरकारले पाएको पाँच वर्षको जनादेशको सम्मान गर्ने बताउँदै थापाले लोकतान्त्रिक अधिकार र संस्थामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी दिए ।

‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थालाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौं, पर्‍यो भने प्रतिवाद गर्छौं,’ उनले भने ।

आफ्नो चरित्रमाथि पटकपटक प्रश्न उठाउने प्रयास भएको दाबी गर्दै थापाले इमानदारी र नैतिकतामा सम्झौता नगरेको बताए । विगतमा आफ्नै पार्टीको सरकारसहित शक्तिशाली सत्ताका गलत कामविरुद्ध बोल्दै आएको र अहिले पनि प्रश्न गर्न नछाड्ने उनको भनाइ थियो ।

प्रायोजित हल्लाका कारण प्रश्न गर्ने अधिकार कमजोर हुन नहुनेमा जोड दिँदै उनले प्रश्न गर्ने अभ्यास समाप्त भए लोकतन्त्र र मुलुकको प्रगतिमा समेत असर पर्ने बताए ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर