

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राखेर मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ । भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे ललितपुरस्थित हाइटफिल्ड क्याटरिङ ब्याङ्क्वेटमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख निरज आचार्यले केन्द्रीय नेतृत्वदेखि पालिका कमिटीका पदाधिकारी र संघीय संसददेखि स्थानीय तहसम्म पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पहिलोपटक एउटै राष्ट्रिय भेलामा सहभागी गराउन लागिएको बताए ।
उनका अनुसार सहभागी संख्याका हिसाबले यो महाधिवेशनपछिको ठूलो कार्यक्रम हुनेछ । आचार्यका अनुसार स्थानीय तह निर्वाचनको व्यवस्थित तयारी, पार्टीका निर्णय र राजनीतिक बुझाइमा एकरूपता तथा वैचारिक र संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो । भेलामा सबै सहभागीबाट स्थानीय निर्वाचनकेन्द्रित सुझाव लिखित रूपमा संकलन गरिनेछ । ती सुझावलाई निर्वाचन रणनीति र संगठनात्मक तयारीमा समेट्ने एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशाबारे सम्बोधन गर्नेछन् । उनले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे पनि धारणा राख्ने कार्यक्रम छ । पूर्वराष्ट्रपति तथा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीति र पार्टीका कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन् । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् ।
महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण, शुद्धीकरण र स्थानीय निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्ने कार्यक्रम छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, प्रवासी नेपाली मञ्च र जनसंगठनका प्रतिनिधि सहभागी हुनेछन् । संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष तथा उपाध्यक्षको पनि सहभागिता रहनेछ । भेला व्यवस्थापनका लागि १९० जना स्वयंसेवक परिचालन गरिनेछ । सहभागीले आवासको व्यवस्था आफैं गर्नुपर्नेछ । त्यसमा कठिनाइ हुने सहभागीलाई सम्बन्धित जिल्ला सम्पर्क कमिटीले समन्वय गर्नेछ । कार्यक्रमस्थलको मुख्य प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष राखिनेछ भने पार्किङको व्यवस्था पार्टी केन्द्रीय कार्यालय च्यासलमा मिलाइएको छ । उद्घाटन समारोहमा सञ्चारकर्मीलाई समाचार संकलन र छायांकनका लागि सभाहलमा प्रवेश दिइनेछ । बन्दसत्रका गतिविधिबारे पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टरमार्फत नियमित जानकारी दिने जनाएको छ ।

सम्बन्धित खबर











