Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

हिउँदयामको विद्युत् माग धान्न भारतबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्ने अनुमति, ५६ मेगावाट निर्यात पनि हुने

Advertisement800×200-1

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्ने औपचारिक अनुमति प्राप्त गरेको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो। प्राधिकरणले आगामी मंसिर १ गतेदेखि २०८४ साल साउन १५ गतेसम्म यो अनुमति पाएको छ। प्राप्त स्वीकृतिअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म बाहेकका अन्य समयमा आईएक्सबाट विद्युत् आयात गर्न सकिनेछ।

कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट बिजुली ल्याउन पाइनेछ। हिउँदयाममा उच्च माग र आयातको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हालै रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको हिमबाढीका कारण ४३१ मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू राष्ट्रिय प्रणालीबाट विच्छेद भएकाले यस हिउँदमा व्यवस्थापन गर्न यो अनुमति अत्यन्त सहयोगी हुनेबारे जानकारी दिनुभयो।

गत वर्षको अवस्था र यसपटकको विश्लेषणअनुसार पुस, माघ, फागुन र चैत गरी चार महिना आन्तरिक उत्पादनभन्दा माग बढी हुने देखिएको छ। विशेषगरी माघ र फागुन महिनामा दैनिक औसत ४५० देखि ५०० मेगावाट तथा उच्च मागको समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ। आगामी वैशाखदेखि भने नदीहरूमा पानीको बहाव बढेर आन्तरिक उत्पादन बढ्ने र आयात प्रतिस्थापन भई पुनः विद्युत् निर्यात सुरु हुने अपेक्षा गरिएको छ। यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित थप ५६ मेगावाट विद्युत् पनि सोही अवधिमा भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री (निर्यात) गर्न अनुमति पाएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर