
१९ साउन, काठमाडौं । यस वर्षको रागिनी उपाध्याय स्वर्ण पदक २०२६ युवा कलाकार नैन्सी विश्वकर्मालाई प्रदान गरिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेपछि नैन्सीलाई यो स्वर्ण पदक प्रदान गरिएको हो। हालै सम्पन्न लखनउ विश्वविद्यालयको दीक्षांत समारोहमा पुरस्कार प्रदान गरिएको थियो। यो पुरस्कार भारतको लखनउ विश्वविद्यालयले नेपाली चित्रकार रागिनी उपाध्यायको सम्मानमा स्थापना गरेको हो।
कला क्षेत्रमा उत्कृष्टता हासिल गर्ने युवा विद्यार्थीहरूलाई सन् २०२५ देखि यो पुरस्कार दिन थालिएको हो। यसले युवा पुस्ताका कलाकारहरूलाई सिर्जनात्मकता, समर्पण र उत्कृष्टताको मार्गमा प्रेरित गर्ने चित्रकार उपाध्यायले बताइन्। यो स्वर्ण पदकले आगामी धेरै दिनसम्म असंख्य युवा कलाकारहरूलाई आफ्नो सपना पछ्याउन र कला साधनामा निरन्तर अघि बढ्न प्रेरित गर्दै जाने पनि उनको भनाइ छ।





