
सर्लाही बलराका दुई किसान, सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह, ३८ दिन भारतको जेलमा बसेपछि शुक्रबार रिहा भएका छन्। सीतामढी जिल्लाको व्यवहार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनीहरू थुनामुक्त भएका हुन्। किसानहरूले नेपालमा मल नपाएपछि भारतीय बजारमै जानु परेको र झूटा मुद्दामा फसाइएको बताएका छन्।
घर फर्किए लगत्तै थुनामुक्त भएका सुरेशप्रसादसँग संक्षिप्त संवादमा उनले भने, “स्वास्थ्य अवस्था कस्तो छ? ठीकै छ।” उनले असार १७ गते बिहान सीमापारिको बजारमा मल किन्न गएको बताएका छन्। उनले भने, “मल किन्न गएका थियौं, तर एसएसबीको घुमुवाले पक्राउ गरे।” उनले ४५ किलोको एक बोरा युरिया ल्याएको र एसएसबीले दुई बोरा युरिया र ६ बोरा डीएपी मल बरामद गरेको दाबी गरे।
सुरेशप्रसादले भने, “हामीले आधार कार्ड भएका भारतकै नागरिकसँग मिलेर मल किनेका थियौं।” जेलमा नराम्रो व्यवहार भएको र खाना पनि राम्रो नपाएको बताए। उनले भने, “खेत जोतेर रोपाइँका लागि तयार पारेर राखेको थिएँ, त्यस्तै बेला पक्राउ परें।” साथै मलको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।






