Skip to main content

‘सरकारको काम गर्ने तरिका ठीक छैन, नियत भने राम्रो छ’ – डा. तारा जोशी

प्रतिनिधिसभा सदस्य डा. तारा जोशीले कम्युनिस्ट राजनीतिबाट रास्वपामा प्रवेश गरेपछि आफ्नो अनुभव र पार्टीको पहिलो महाधिवेशनबारे कुराकानी गरेका छन्। डा. जोशीले रास्वपाको आधारभूत सिद्धान्त सामाजिक लोकतन्त्र भएको बताउँदै एमाले र रास्वपाको स्कुलिङमा खासै भिन्नता नरहेको उल्लेख गरेका छन्। सरकारको कार्यक्षमतामा देखिएको असन्तुष्टि र पार्टी भित्रका विमतिबारे बोल्दै उनले सरकारको नियत सफा भए पनि व्यवस्थापकीय पाटोमा केही कमजोरी रहेको स्वीकार गरेका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि २०७९ सम्म लगातार डडेलधुराबाट चुनाव जित्दै आए। गत २१ फागुनको प्रतिनिधिसभा चुनावमा उनले टिकट नै पाएनन्। कांग्रेसले उनको ठाउँमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनायो। तर महर पराजित भए। उनलाई रास्वपा उम्मेदवार डा. तारा जोशीले पराजित गरेका थिए। लामो समय नेकपा एमालेको राजनीति गरेका जोशी केही समय तत्कालीन एकीकृत समाजवादीमा संलग्न रहे। २०७९ सालको चुनावमा तत्कालीन सत्ता गठबन्धनले डडेलधुरा प्रदेशसभामा टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका जोशी जित निकाल्न सफल रहे।

जोशी गत चुनावअघि उज्यालो नेपालका संस्थापक कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग नजिकिए। रास्वपा र उज्यालो नेपाल पार्टी एकता भयो तर तत्कालै भंग पनि भयो। जोशी भने रास्वपामै रहे। उज्यालो नेपालको एक पक्ष जोशीकै नेतृत्वमा रास्व्पामा छ। उनै जोशीसँग नयाँ पार्टी र प्रतिनिधिसभा सदस्यको अनुभूति, रास्वपाको प्रथम महाधिवेशन, पार्टीभित्र देखिन थालेका विमतिलगायत विषयमा केन्द्रित रही अनलाइनखबरकर्मी लिलु डुम्रेले कुराकानी गरेका छन्।

जोशीले भने, “सरकारको कार्य क्षमता र शैलीलाई जति अपेक्षा गरेको थिएँ, त्यति त भएको छैन। तर धेरै राम्रा काम पनि गरेको छ। मेरो अपेक्षा यो भन्दा बढी थियो। तर सरकारले गरिरहेका कतिपय विषयमा भने सन्तुष्ट छु। प्रशासनको क्षेत्रमा सरकारले सुधारका कार्यहरू गरेको छ।” उनले थपे, “सरकारको नियत ठिक होला तर काम गर्ने ढंग पुगेन भन्ने टिप्पणीप्रति तपाईं सहमत हुनुहुन्छ? ढंग नपुगेको हुन सक्छ। काम गरौँ भन्ने भावना भने छ।”