
अध्यागमन विभागका तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा प्रत्येक वर्ष करिब दुई लाख नेपाली पर्यटन र तीर्थयात्राको उद्देश्यले विदेश जान्छन्। विभागका अनुसार, पछिल्ला पाँच वर्षमा सात लाखभन्दा बढी नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन्, जसमा ५२ प्रतिशतले वैदेशिक रोजगारी रोजेको देखिन्छ। शिक्षाका लागि विदेशिने नेपालीको संख्या सन् २०२१ मा २६ हजार थियो, जुन सन् २०२५ सम्ममा पाँच गुणाले बढेर एक लाख ३३ हजार पुगेको छ।
अध्यागमन विभागका तथ्यांक अनुसार, सन् २०२१ देखि २०२५ सम्म वार्षिक औसत १ लाख ९९ हजार ९ सय ७६ नेपाली पर्यटन र तीर्थयात्राका लागि विदेशिएका छन्। यस तथ्यांकमा अध्ययन, परिवार भेटघाट, अस्थायी र स्थायी बसोबासका लागि विदेशिने नेपालीहरू समावेश छैनन्। २०२५ मा मात्र पर्यटन र तीर्थयात्राका लागि २ लाख ३३ हजार १ सय ८ नेपाली विदेशिएका छन्।
पछिल्लो समयमा नेपाली आप्रवासन दर निरन्तर बढ्दै आएको छ। विगत ५ वर्षमा कुल ७१ लाख २६ हजार ४ सय ५९ नेपाली विभिन्न प्रयोजनका लागि विदेशिएका छन्, जसमा ५२ प्रतिशत वैदेशिक रोजगारीमा पुगेका छन्। विभागले भनेको छ, ‘यो तथ्यांकले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीमा आधारित संरचनात्मक निर्भरता देखाउँछ।’
अध्यागमन विभागका पछिल्ला तथ्यांकले देखाउँछन् कि सबैभन्दा बढी नेपाली यूएई जान रुचाउँछन्। विगत ५ वर्षमा विदेशी प्रस्थान गर्नेहरूमा यूएई जानेहरूको संख्या सबैभन्दा धेरै छ। यूएईमा वार्षिक औसत २ लाख ७१ हजार ८ सय ९३ जना नेपाली पुग्छन्।






