Skip to main content

एभरेस्ट महिला भलिबल लिगमा नयाँ फ्रेन्चाइज ‘सुदूरपश्चिम रोयल वारियर्स’को घोषणा

एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभी) को तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’ घोषणा गरिएको छ। नयाँ टोलीले सुदूरपश्चिमका दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीहरूलाई व्यावसायिक मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ। सञ्जीप शाही, जो टोलीका स्वामित्वकर्ता हुन्, भन्छन्, ‘ग्रामीण र दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीहरूको पहिचान र विकास गरी राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिने हाम्रो उद्देश्य हो।’

२८ साउन, काठमाडौं। एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोलीको घोषणा गरिएको छ। लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइज टोलीको रूपमा सार्वजनिक गरेको हो। यस नयाँ टोलीको सहभागी भएपछि व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच अझ विस्तार हुने आयोजकको विश्वास छ।

सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीसँग रहेको छ। आयोजकका अनुसार यो फ्रेन्चाइज सुदूरपश्चिम क्षेत्रको भलिबल प्रतिभा र खेलकुद क्षमतालाई प्रतिनिधित्व गर्नेछ। विशेष रूपमा ग्रामीण, दुर्गम तथा अवसरवञ्चित क्षेत्रका महिला खेलाडीहरूलाई पहिचान गरी व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य टोलीले लिएको छ।

स्वामित्व समूहका सञ्जीप शाही भन्छन्, “सुदूरपश्चिम क्षेत्रमा भलिबलप्रति आकर्षण र प्रतिभा अत्यधिक छ, तर महिला भलिबलको व्यावसायिक लिगमा यस क्षेत्रको आफ्नै फ्रेन्चाइज टोलीको अभाव छ। सुदूरपश्चिम रोयल वारियर्समार्फत हामी यस अवस्थालाई परिवर्तन गर्न चाहन्छौं। ग्रामीण र दुर्गम क्षेत्रका प्रतिभाशाली महिला खेलाडीहरूको पहिचान र विकास गरी उनीहरूलाई व्यावसायिक मञ्च र राष्ट्रिय स्तरसम्म पुग्ने अवसर दिने हाम्रो लक्ष्य हो।”

उनका अनुसार यो टोलीले सुदूरपश्चिमको पहिचान र क्षमतालाई प्रतिनिधित्व गर्दै युवतीहरूका लागि भलिबलमार्फत अर्थपूर्ण अवसरहरू सिर्जना गर्ने योजना बनाएको छ।

एभरेस्ट महिला भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले पनि तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सलाई स्वागत गर्न पाउँदा गर्व लागेको बताइन्। उनले भनिन्, “ईडब्लूभीको सुरुवातदेखि नै सुदूरपश्चिमका उत्साही भलिबलप्रेमी दर्शकमाझ पुग्ने र यस क्षेत्रमा भलिबलको विकासमा भइरहेको योगदानलाई सम्मान गर्दै क्षेत्रलाई लिगसँग जोड्ने हाम्रो सपना रहेको छ।”

स्नेभीले नयाँ स्वामित्व समूहको आगमनसँगै लिगको राष्ट्रिय उपस्थितिलाई अझ सशक्त बनाउँदै सुदूरपश्चिमलाई महिला भलिबलको व्यावसायिक संरचनासँग नजिकबाट जोडिने अपेक्षा व्यक्त गरिन्।

आयोजकहरूले एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करणलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारीमा रहेका र भविष्यमा थप विवरण सार्वजनिक गरिने बताएका छन्।