
दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि साविक विजेता मेचीनगरले शान्तिनगरलाई ३–० को गोल अन्तरले हराउँदै सफलतापूर्वक रक्षा गरेको छ। मेचीनगरका पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान रूपमा एक–एक गोल गरेर टोलीलाई विजय दिलाए। प्रतियोगितामा मेचीनगरका राजदीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भएका थिए।
सेमिफाइनलमा शान्तिनगरले ज्यामिरगढीलाई पेनाल्टी सुटआउटमा १०–९ को रोमांचक गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। अर्को सेमिफाइनलमा मेचीनगरले बाहुनडाँगीलाई २–० को स्पष्ट अग्रता सहित हराएको थियो। यस प्रतियोगितामा झापाका सात टोलीहरूले भाग लिएका थिए।
प्रतियोगिताका क्रममा कलाकार र राजनीतिकर्मीहरू बिच मैत्रीपूर्ण फुटसल खेल पनि आयोजना भएको थियो। उक्त खेलमा कलाकारहरूको टोलीले ८–१ को फराकिलो जित हासिल गर्यो। कलाकार टोलीका लागि मिलन खड्काले तीन गोल गरे भने योगेन्द्र उपाध्याय र प्रशान्त शिवाकोटीले समान दुई–दुई गोल गरे।
प्रतियोगिताको विजेताले रु २१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् भने उपविजेताले रु ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन्। प्रतियोगिताको उद्घाटन कार्यक्रम नेपाली कांग्रेसका सभापति गगन थापाले उद्घाटन गरेका थिए।






