
तृणमूल कांग्रेसका नेता तथा पूर्व मन्त्री आशिष बनर्जी आफ्नै निवासस्थित पार्टी कार्यालयमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार बीरभूम जिल्लाको रामपुरहाटस्थित कार्यालयमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो। घटनास्थलमा एउटा सुसाइड नोट पनि फेला परेको छ र प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका निकट मानिने आशिष बनर्जी पार्टी कार्यालयको एउटा कोठामा आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनी रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक निर्वाचित भएका थिए। प्रहरीले एक वरिष्ठ अधिकारीका अनुसार कार्यालयको कोठाभित्र झुण्डिएको अवस्थामा आशिषको शव भेटिएको हो। शव पोस्टमार्टमका लागि पठाइएको छ।
सर्वप्रथम स्थानीयवासीले पार्टी कार्यालयमा आशिषलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनापछि रामपुरहाट थानाबाट पुगेको प्रहरी टोलीले शव बरामद गरेको थियो। आशिष सन् २००१ देखि रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए। यस वर्षको विधानसभा निर्वाचनमा उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार ध्रुव साहसँग पराजित भएका थिए। ममता बनर्जी नेतृत्वको सरकारमा आशिष बनर्जी स्कुल शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए।






