
अर्जुन कुलुङ राई र मन्जु सुनुवारले ब्याकयार्ड अल्ट्रा–२०२६ को उपाधि जितेका छन्। अर्जुनले ३३ लुप पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरे भने मन्जुले १४ लुप पूरा गरिन। विजेता दुवै खेलाडीले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
१ भदौ, काठमाडौं। अर्जुन कुलुङ राई र मन्जु सुनुवारले ब्याकयार्ड अल्ट्रा–२०२६ मा पहिलो स्थान हासिल गरेका छन्। अल्ट्रा ट्रेल्स नेपालले आयोजना गरेको उक्त ट्रेल प्रतियोगितामा एक्सटेपबाट प्रतिस्पर्धा गरेका अर्जुन पुरुषतर्फ विजेता भए भने मन्जु महिलातर्फ पहिलो स्थानमा रहिन्। अर्जुनले ३३ लुप पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरे जुन पहिले ३२ लुपको रेकर्ड हेमन्त राणाको नाममा थियो।
मन्जुले पनि १४ लुप पूरा गरी नयाँ कोर्स रेकर्ड कायम गरिन्, जुन अघिल्लो रेकर्ड १२ लुपको थियो। दुवै विजेताले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्। दोस्रोदेखि दसौं स्थानसम्मका सहभागीहरूलाई पनि नगद पुरस्कार प्रदान गरियो। प्रतियोगितामा सहभागीहरूले एक लुपमा ६.७ किलोमिटर दूरी एक घण्टाभित्र पूरा गर्नुपर्ने नियम लागू गरिएको थियो।
प्रतियोगिता निर्देशक दिवाकर बुढाले यस्तो किसिमको प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरे। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विट्जरल्यान्ड लगायतका देशका ६५ प्रतिस्पर्धी सहभागी थिए। दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भई विभिन्न मार्गहरू पार गर्दै पुनः त्यहीँ फिर्ता भएर सम्पन्न भयो। ब्याकयार्ड अल्ट्राको विश्व च्याम्पियनसिप सन् २०२६ अक्टोबर १७ मा पोखरामा आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।






